नरेश राना / कञ्चनपुर
कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका मा बालिका तथा समावेशी शिक्षा सञ्जालको बैठक सम्पन्न भएको छ। बालबालिकाको शिक्षा, अधिकार तथा समावेशी शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले आयोजित बैठकमा आगामी आर्थिक वर्षका लागि विभिन्न योजनाबारे छलफल गरिएको थियो।
बैठकमा गाउँपालिकाकी उपाध्यक्ष सपना चौधरी राना, शिक्षा शाखा प्रमुख सिद्धराज भट्ट, विभिन्न संघसंस्थाका पदाधिकारी, प्रहरी प्रशासनका प्रतिनिधि, शिक्षक, विद्यार्थी, भलमन्सा तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले बालिका शिक्षा प्रवर्द्धन, विद्यालयमा समावेशी वातावरण निर्माण, विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने तथा बालअधिकार संरक्षणका विषयमा आ–आफ्ना धारणा राखेका थिए। विशेषगरी बालिका तथा सीमान्तकृत समुदायका बालबालिकाको शिक्षामा पहुँच र सहभागिता बढाउन स्थानीय तह, विद्यालय तथा समुदायबीच समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो।
बैठकमा आगामी आर्थिक वर्षभित्र गाउँपालिकाका प्रत्येक विद्यालयमा बाल समिति गठन गर्ने, विद्यार्थीको नेतृत्व विकास गर्ने तथा विद्यालयस्तरमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य तय गरिएको छ। बालविवाह, बालश्रम, लैङ्गिक विभेद, विद्यालय छाड्ने समस्या तथा बालअधिकार सम्बन्धी विषयमा सचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरिने पनि जानकारी दिइयो।
उपाध्यक्ष सपना चौधरी रानाले बालबालिकाको सर्वाङ्गीण विकासका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउँदै विद्यालय, अभिभावक तथा समुदायको सहकार्यबाट मात्रै गुणस्तरीय र समावेशी शिक्षा सुनिश्चित गर्न सकिने धारणा व्यक्त गर्नुभयो। शिक्षा शाखा प्रमुख सिद्धराज भट्टले विद्यालयमा बालमैत्री वातावरण निर्माण गर्दै बालबालिकाको सक्रिय सहभागिता बढाउन आवश्यक कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिनुभयो।
आयोजकका अनुसार बालिका तथा समावेशी शिक्षा सञ्जालको अर्को बैठक आगामी आर्थिक वर्षको असोज महिनामा आयोजना गरिनेछ। उक्त बैठकले चालु कार्यक्रमहरूको समीक्षा गर्दै थप प्रभावकारी योजना निर्माण गर्ने अपेक्षा गरिएको छ।
स्थानीय स्तरमा बालिका तथा समावेशी शिक्षाको क्षेत्रमा सकारात्मक पहल गर्दै आएको सञ्जालले आगामी दिनमा विद्यालय र समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै बालबालिकाको अधिकार र शिक्षाको सुनिश्चितताका लागि विभिन्न गतिविधि सञ्चालन गर्ने जनाएको छ।







