लालझाडी: लालझाडी गाउँपालिकाको देखतभुली स्वास्थ्य चौकीले यस आर्थिक वर्ष २०८२/८३ मा जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुर द्वारा समीक्षा गरिएको स्वास्थ्य चौकी स्तरीय न्यूनतम सेवा मापदण्ड (HPMSS) अन्तर्गतको मूल्यांकन स्कोरिङमा ९६.३९ प्रतिशत अंक हासिल गर्दै जिल्लाकै उत्कृष्ट स्वास्थ्य संस्थाको गौरव पुनः आफ्नो नाममा कायम राख्न सफल भएको छ।

पालिकाहरूले हरेक वर्षजसो स्वास्थ्य चौकीहरूको सुशासन र व्यवस्थापन, क्लिनिकल सेवा र सहयोगी सेवागरी तीन प्रमुख खण्डमा मूल्यांकन गर्दै आएका छन, जसमा ८५ प्रतिशतभन्दा बढी अंक ल्याउने संस्थालाई मात्र हरियो (Green) श्रेणीमा राख्ने गरिन्छ ।  यस मूल्यांकनमा देखतभुली स्वास्थ्य चौकीले सुशासन र व्यवस्थापन खण्डमा १९.२९, क्लिनिकल सेवा खण्डमा ५८.३२ र सहयोगी सेवा खण्डमा १८.०८ प्रतिशत अंक प्राप्त गर्दै जम्मा ९६.३९ प्रतिशत अंकसहित हरियो (Green) श्रेणीमा प्रथम स्थान पाएको छ। पालिकाहरूले गरेको मूल्याङ्कनलाई जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले समीक्षा गर्ने गरेको छ।

लालझाडी गाउँपालिका अन्तर्गतको मूल्यांकन टोलीमा जय राज भट्ट, खगेन्द्र चौधरी र दशरथ राना सामेल थिए भने स्वास्थ्य चौकी प्रमुखको रूपमा श्री लिलाकान्त झाको नेतृत्वमा सम्पूर्ण कर्मचारीहरूले उत्कृष्ट टिमवर्कले गरेको प्रदर्शनलाई यस उपलब्धिको मुख्य श्रेय जान्छ। सुशासनदेखि संगठनात्मक व्यवस्थापन, मानव संसाधन, वित्तीय व्यवस्थापन र सूचना व्यवस्थापनसम्म सबै उपखण्डमा शतप्रतिशत अंक हासिल गर्नु अत्यन्त उल्लेखनीय उपलब्धि हो। क्लिनिकल सेवा अन्तर्गत खोप, परिवार नियोजन, DOTS क्लिनिक, ड्रेसिङ तथा प्रयोगशाला सेवामा पनि शतप्रतिशत नतिजा हासिल गरेको यस चौकीले प्रसूति सेवा र OPD सेवामा पनि ९५ प्रतिशतभन्दा माथिको अंक ल्याएको छ।

यस उपलब्धिप्रति लालझाडी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरी तथा स्वास्थ्य चौकी प्रमुख लिलाकान्त झाले सम्पूर्ण सहकर्मी तथा यस पुनीत कार्यमा सहयोग गर्ने सबै हातहरूप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै यो उपलब्धि समुदायकै सेवामा समर्पित रहने प्रतिबद्धता दोहोर्‍याएका छन्।