ज्ञानु राना / धनगढी
कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. ८ मा आयोजित पुरुष खुल्ला भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। राना थारु आदर्श युवा क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताले स्थानीय खेलकुद विकाससँगै युवाहरूबीच आपसी भाइचारा र सहकार्यको भावना मजबुत बनाएको आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन तथा समापन कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष जुग राम चौधरी प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो भने नेपाल राना थारु समाजका केन्द्रीय अध्यक्ष कमल सिंह राना विशिष्ट अतिथिको रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्व, स्थानीय बासिन्दा, खेलप्रेमी तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रतियोगितामा विभिन्न टिमहरूको उत्साहजनक सहभागिता रहेको थियो। निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलपछि गिरी सेकुवा सेन्टरले प्रथम स्थान हासिल गर्दै नगद रु. ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यसैगरी आदर्श युवा क्लब दोस्रो हुँदै नगद रु. २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जुग राम चौधरीले खेलकुदले युवालाई सकारात्मक बाटोमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले यस्ता प्रतियोगिताले समाजमा अनुशासन, एकता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उल्लेख गर्दै आगामी दिनमा पनि खेलकुद गतिविधिलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि कमल सिंह रानाले राना थारु समुदायको पहिचान, संस्कृति र युवाशक्तिलाई खेलकुदमार्फत अगाडि बढाउन यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राख्नुभयो। उहाँले स्थानीय तहमा खेलकुद गतिविधि बढ्दै जानु सुखद पक्ष भएको बताउनुभयो।
आयोजक राना थारु आदर्श युवा क्लबका पदाधिकारीहरूले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण खेलाडी, दर्शक, सहयोगदाता तथा स्थानीयवासीप्रति आभार व्यक्त गरेका छन्। प्रतियोगिताले धनगढी क्षेत्रमा खेलकुदप्रति युवाहरूको आकर्षण बढाउनुका साथै सामाजिक सद्भाव कायम गर्न पनि टेवा पुगेको विश्वास लिइएको छ।






