महेन्द्रनगर । नेपाल रानाथारु समाज कैलाली–कञ्चनपुरले कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३, कमरी खैरिघाट निवासी भैंसीपालक कृषक हरकिशन रानाको रहस्यमय मृत्यु घटनामा निष्पक्ष छानबिन गर्न माग गर्दै शान्तिपूर्ण विरोध प्रदर्शनको घोषणा गरेको छ ।

समाजद्वारा शुक्रबार जारी एक प्रेस विज्ञप्तिमार्फत हरकिशन राना २०८२ वैशाख ९ गते बेलौरी नगरपालिका–१० शिवनगरस्थित निर्मल शारदा आर्यघाट नजिक मोटरसाइकलसहित जलेको अवस्थामा मृत फेला परेका थिए । घटना भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि सत्यतथ्य अनुसन्धान प्रभावकारी रूपमा हुन नसकेको भन्दै समाजले गम्भीर चिन्ता व्यक्त गरेको छ ।

विज्ञप्तिमा पीडित परिवारले पुनः जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएपछि आरोपित भनिएकी बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ती नाथ पक्राउ परेर २१ दिनमै हिरासत मुक्त भएको उल्लेख गरिएको छ । घटनाको वास्तविक छानबिन नभएको भन्दै स्थानीय समुदाय आक्रोशित बन्दै गएको समाजको भनाइ छ ।

नेपाल रानाथारु समाजले राज्यसत्ताको दुरुपयोग गर्दै स्थानीय प्रहरी प्रशासनले घटनाको सत्यतथ्य बाहिर आउन नदिने भूमिका खेलेको आरोप लगाएको छ । साथै पीडित परिवारलाई न्याय दिलाउन उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरिएको छ ।

यसैबीच, हरकिशन रानालाई न्याय दिलाउन समाजले २०८३ वैशाख २६ गते शनिबार बिहान ११ बजे महेन्द्रनगरको ट्राफिक चोकदेखि मदन चोकसम्म शान्तिपूर्ण विरोध प्रदर्शन तथा कोणसभाको आयोजना गर्ने जनाएको छ । समाजका अध्यक्ष कमल सिंह रानाले नागरिक समाज, मानव अधिकारकर्मी, सञ्चारकर्मी तथा न्यायप्रेमी सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई ऐक्यबद्धता जनाउन अपिल गरेका छन् ।