कञ्चनपुर । समाचार लेखेकै विषयलाई लिएर नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका साधारण सदस्य बासुदेव धामी (विमल) विरुद्ध साइबर अपराध सम्बन्धी मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी गरिएको घटनाप्रति महासंघले गम्भीर आपत्ति जनाएको छ। महासंघले यस घटनालाई प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेपको रूपमा व्याख्या गरेको छ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ती नाथले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता गर्नु र पक्राउ पुर्जी जारी गर्नु कानुनी र नैतिक दुवै हिसाबले अनुचित रहेको महासंघको ठहर छ।
महासंघका अनुसार, प्रेससम्बन्धी विवाद समाधानका लागि स्पष्ट रूपमा प्रेस काउन्सिल नेपाल नै अधिकारप्राप्त निकाय हो, जहाँ यस्ता विषयमा उजुरी, छानबिन तथा आवश्यक कारबाहीको व्यवस्था विद्यमान छ।
महासंघले पछिल्ला दिनहरूमा नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोमार्फत यस्ता घटनामा हस्तक्षेप बढ्नुले सञ्चार क्षेत्रमै त्रास सिर्जना गरेको जनाएको छ। “समाचार लेखेकै आधारमा मुद्दा चलाउनु भनेको पत्रकारिताको आत्मामाथि प्रहार गर्नु हो,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
महासंघले पत्रकार धामीमाथि लगाइएको मुद्दा तत्काल खारेज गरी सम्बन्धित विषय प्रेस काउन्सिल नेपालमा पठाउन माग गरेको छ। साथै, धामी र उनको परिवारले पछिल्लो समय असुरक्षा महसुस गरिरहेको जानकारी आएको भन्दै आवश्यक सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ।
१३/१४ वर्षदेखि सुशासन, पारदर्शिता र जवाफदेहिताका विषयमा कलम चलाउँदै आएका पत्रकार धामीमाथि समाचारको विषयलाई तोडमोड गरी मुद्दा दर्ता गरिएको देखिएको महासंघको भनाइ छ। हाल प्रहरी हिरासतमा रहेकी उपाध्यक्ष नाथले विषयलाई बंग्याएर उजुरी दिएको आरोप समेत महासंघले संकेत गरेको छ।
नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरले सधैं प्रेस स्वतन्त्रताको पक्षमा उभिने प्रतिबद्धता दोहोर्याउँदै संविधानले सुनिश्चित गरेको अधिकारको सम्मान गर्न सबै पक्षसँग आग्रह गरेको छ। साथै, सम्पूर्ण सञ्चारकर्मीलाई आचारसंहिताको पालना गर्दै सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिता गर्न पनि आह्वान गरिएको छ।
यो घटनाले फेरि एकपटक प्रश्न उठाएको छ, के अब सत्य लेख्नु अपराध बन्दैछ ?








