कैलाली: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहा-४ बलियामा यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन गर्नुभएको छ । आज एक कार्यक्रमकाबीच उहाँले सेवा कार्यालयको उद्घाटन गरेका हुन्।

पूर्वी कैलालीका नागरिकलाई आवागमनमा सहजता हुने विश्वास लिइएको छ। जिल्लाको पूर्ववर्ती क्षेत्रका जनतालाई सेवा उपलब्ध गराउनका निमित्त बलियामा सेवा कार्यालय स्थापना गरिएको हो।

उद्घाटन समारोहमा मुख्यमन्त्री शाहले जनतालाई सेवा प्रवाह गर्नका निमित्त प्रदेश सरकार कटिबद्ध भएर लागिरहेको बताए। उनले यातायात व्यवस्था सेवा कार्यालयको स्थापनासँगै यस क्षेत्रका जनताले राहतको अनुभूति गर्ने विश्वास व्यक्त गरे।

“जनप्रतिनिधिहरूले जनताले दिएको जनमतको सम्मान गर्दै जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्छ”, मुख्यमन्त्री शाहले भने, “मुलुकको विकासका लागि तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व हुनुपर्छ।”

यस क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले रु एक अर्ब बराबरको बहुवर्षीय ठेक्का स्रोत सुनिश्चित गरेको मुख्यमन्त्री शाहले जानकारी दिए। लम्कीचुहा प्रादेशिक अस्पतालका लागि चालु आवमा प्रदेश सरकारले रु चार करोड ५० लाख बजेट विनियोजन गरेको जानकारी दिँदै उनले यस वर्ष सञ्चालनमा आउन नसके रकम ‘फ्रिज’ भएर जाने बताए।

लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनका लागि आवश्यक परे कानुनसम्मत रूपमा लचकता अपनाउन प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री शाहले बताए। यस क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आफू निरन्तर प्रयासरत रहेको भन्दै उहाँले सोहीअनुरूप कानुनी दायराभित्र रही आवश्यक लचकता अपनाइने धारणा राखे।

टीकापुरमा प्रस्तावित टीकापुर विज्ञान तथा प्राविधिक विश्वविद्यालय निर्माणका लागि सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिँदै मुख्यमन्त्री शाहले आधुनिक प्रविधिको युगमा विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्षम जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याए। उक्त विश्वविद्यालयले क्षेत्रीय पहिचान स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे।

सेवा कार्यालय स्थापनासँगै लम्कीचुहा नगरपालिका, मोहन्याल गाउँपालिका, जानकी गाउँपालिका, टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिकालगायत क्षेत्रका जनतालाई सहजता हुनेछ।

कार्यालय व्यवस्थापनका लागि स्थानीय झुप्रे रावतले पाँच वर्षका लागि आफ्नो घर निःशुल्क उपलब्ध गराएका छन्। लम्कीचुहा नगरपालिका–४ का वडाध्यक्ष ताराप्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन वडा नं ३ का वडाध्यक्ष लवबहादुर शाहीले गरेका थिए।