दिनेश राना/कैलाली– काठमाडौँको तार्केश्वरमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको अन्तिम संस्कार सम्पन्न भएको छ । शुक्रबार स्वयम्भूमा गरिएको दाहसंस्कार कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ आफैँ सहभागी भई लामाको पार्थिव शरीरमा काँध दिएर श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

गत चैत २९ गते तार्केश्वर नगरपालिका–८, डाँडागाउँमा इन्स्पेक्टर लामा सवार बागमती प्रदेश–०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डबी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत लामाको अन्त्येष्टि उहाँकी पत्नी र परिवारका अन्य सदस्यहरू जापानबाट फर्कन समय लागेका कारण शुक्रबार मात्र गरिएको हो । उक्त शोकको घडीमा प्रहरी प्रशासनका उच्च अधिकारीहरू र आफन्तजनको बाक्लो उपस्थिति रहेको थियो ।








