दिनेश राना/धनगढी– ज्यानसम्बन्धी गम्भीर मुद्दामा पक्राउ परेकी कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी छन् । बिहीबार पक्राउ परेकी उनलाई प्रहरी नियन्त्रणमै राखेर महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता हेमबहादुर शाहीका अनुसार, मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर नाथलाई नियन्त्रणमा लिइएको हो। इलाका प्रहरी कार्यालय बेलडाँडीमार्फत दर्ता भएको यो मुद्दामा थप अनुसन्धानका लागि उनलाई महेन्द्रनगरबाट पक्राउ गरिएको थियो।

यो प्रकरण गत वैशाख पहिलो साता बेलौरी नगरपालिका-१० मा भएको ५० वर्षीय हरिकिसन रानाको शंकास्पद मृत्युसँग जोडिएको छ। राना सडक छेउको भुसामा मोटरसाइकलसहित जलेको बीभत्स अवस्थामा मृत फेला परेका थिए। सुरुमा सडक दुर्घटना जस्तो देखिए पनि मृतकको परिवारले योजनाबद्ध हत्या भएको दाबी गर्दै आएका छन्।

यस घटनालाई लिएर हालै प्रतिनिधि सभामा सांसद दीपक बोहराले निष्पक्ष छानबिनको माग समेत गरेका थिए। प्रहरीले यसलाई सडक दुर्घटना वा सुनियोजित हत्या, दुवै कोणबाट सूक्ष्म अनुसन्धान गरिरहेको छ। घटनामा ठुलो आर्थिक लेनदेन र कृषि अनुदानको विषय समेत जोडिएकोले प्रहरीले सोही दिशामा प्रमाणहरू संकलन गरिरहेको छ।