काठमाडौं — अाज प्रधानमन्त्री बालेन शाह ले समानुपातिक सांसदहरूसँग छलफल गर्नकालागि प्रधानमन्त्री कार्यालय सिहदरवारमा बोलाएका हुन। उक्त छलफलका क्रममा सांसद कृपाराम राना ले कञ्चनपुर जिल्लाका समसामयिक समस्या तथा विकासका मुद्दाहरू उठाएका छन्।

सांसद रानाले रानाथारु समुदायको सांस्कृतिक, सामाजिक, आर्थिक तथा शैक्षिक अवस्थाको समग्र सुधारका लागि “रानाथारु विकास परिषद” गठन गर्नुपर्ने माग गरेका छन्। साथै, भैंसीपालक किसान हरकिशन रानाको हत्या प्रकरणमा हालसम्म सत्यतथ्य बाहिर नआएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

उनले कञ्चनपुरमा भएका विभिन्न जघन्य घटनाहरू—हरकिशन राना हत्या काण्ड, लालझाडी बडायक हत्या प्रकरण, बेदकोटकी रामदुलारी तथा निर्मला पन्त हत्या काण्ड—प्रति पनि ध्यानाकर्षण गराउँदै पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग जोडदार माग गरेका छन्।

“अब मौन बस्ने होइन, न्यायका लागि दृढ रूपमा बोल्ने समय आएको छ,” भन्दै उनले संसदमा लामो समय लिएर न्यायका पक्षमा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाएका छन्। उनले पीडित परिवारका लागि न्याय सुनिश्चित गर्न आफूले यसअघि नै पूर्व गृहमन्त्रीसमक्ष यि विषय उठाइसकेको जानकारी दिएका छन्।

त्यसैगरी, उनले कञ्चनपुर जिल्लाको विकासका लागि विभिन्न महत्वपूर्ण मागहरू अघि सारेका छन्। जसअन्तर्गत दैजी–छेला औद्योगिक क्षेत्रको काम तत्काल सुरु गर्न, दोधारा–चाँदनी सुख्खा बन्दरगाह निर्माणलाई तीव्रता दिन, महाकाली कोरिडोर सम्पन्न गर्न बजेट व्यवस्था गर्न, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत परम्परागत चिकित्सा विभाग स्थापना गर्न माग गरिएको छ।

यस्तै, मझगाउँ विमानस्थलको टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन, दोदा, महाकाली, सुनबोरा र बन्हरा नदीमा तटबन्ध निर्माणका लागि बजेट सुनिश्चितता, महाकाली सिँचाइ आयोजनाको तेस्रो चरण सम्पन्न गरी तत्काल पानी प्रवाह, तथा परम्परागत कृषिलाई आधुनिक प्रणालीमा रूपान्तरण गरी निःशुल्क सिँचाइको व्यवस्था गर्नुपर्ने विषय पनि उनले उठाएका छन्।

सांसद रानाको उक्त माग र प्रतिबद्धताले कञ्चनपुरका स्थानीय बासिन्दा तथा पीडित परिवारमा न्याय र विकासप्रति आशा जगाएको छ।