कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा अध्यापन सुरु हुने भएको छ । यो वर्षदेखि नै एमबिबिएससहित विभिन्न संकायमा अध्ययन सुरु गर्नका लागि विश्वविद्यालयले प्रकिया अगाडि बढाइएको छ। यही वर्षदेखि शैक्षिक कार्यक्रम सञ्चालन गर्न विश्वविद्यालय सभाको चौथो बैठकले आवश्यक ६ वटा नियमावलीसमेत पारित गरिसकेको छ ।

विश्वविद्यालयका रजिस्टार डाक्टर खेमराज जोशीले गेटामा यो वर्षबाटै एमबिबिएस, बिएस्सी नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी र बिएस्सी अप्टोमेटरीको पढाइ हुने बताए । उनले चिकित्सा शिक्षा आयोगसमक्ष ५० एमबीबीएस, ३० बीएस्सी नर्सिङ, २० मेडिकल ल्याब टेक्नोलोजी २० र बीएस्सी अप्टोमेटरीमा २० सिट अध्ययन अध्यापनका लागि आवेदन दिइसकेको बताए। ‘गेटामा यो वर्षबाटै एमबिबिएससहितका चार विधामा पढाइ सुरु हुन्छ। कक्षा १२ को नतिजा प्रकाशन भएपछि चिकित्सा शिक्षा आयोगले परीक्षा लिन्छ अनि त्यसपछि नै शैक्षिकसब सुरु हुन्छ,’ उनले भने, ‘यो वर्षको मंसिर-पुसदेखि गेटामा पढाइ सुरु हुन्छ । हामी अहिले त्यसकै तयारीमा लागिरहेका छौँ ।’

गेटामा अस्पताल र शैक्षिक कार्यक्रम सञ्चालनका लागि सरकारसँग आगामी आर्थिक वर्षमा दुई अर्ब ५८ करोड बजेट माग गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ । उक्त प्रस्ताव प्रधानमन्त्री कार्यालय हुँदै अर्थ मन्त्रालयसम्म पुगिसकेको छ भने छात्रवृत्ति कोटाका लागि बजेट सुनिश्चित भइसकेको बताइएको छ ।

यस्तै, विश्वविद्यालयले गत फागुनमै शैक्षिक जनशक्तिका लागि करार सेवामा २६ जना प्राध्यापक र ५१ जना उपप्राध्यापक नियुक्त गर्न प्रक्रिया अगाडि बढाइएको छ । विश्वविद्यालयले फिजियोलोजी, प्याथोलोजी, इएनटी, जनरल सर्जरी, एनेस्थेरियोलोजी, इन्टरनल मेडिसिन, अप्थाल्मोलोजी, मेडिकल एजुकेसन, फार्माकोलोजीलगायत विषयका जनशक्ति पदपूर्ति गर्ने प्रक्रिया थालेको हो ।

सङ्घीय सरकारले गेटामा अस्पताल सञ्चालन गर्न र शैक्षिक कार्यक्रम सुरु गर्न आवश्यक गृहकार्य गरिरहेको कैलाली-५ का सङ्घीय सांसद डाक्टर आनन्दबहादुर चन्दले बताए । उनले गेटामा पूर्ण क्षमताको अस्पताल र शैक्षिक कार्यक्रम सञ्चालन हुने बताए। चिकित्सा शिक्षा आयोगले यो वर्ष लिने प्रवेश परीक्षामा गेटाका लागिसमेत सिट छ्ट्याउने सांसद चन्दले बताए ।







