धनगढी: धनगढी उपमहानगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग कार्यसम्पादन सम्झौता गरेको छ ।

बुधवार नगर सभा हलमा बसेको पहिलो मासिक प्रधानाध्यापक बैठकमा कार्यसम्पादन सम्झौता भएको हो ।

धनगढी उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ देखि प्रधानाध्यापकहरूसँग कार्यसम्पादन सम्झौता गर्दै आएको छ। कार्यसम्पादन सम्झौतामा प्रधानाध्यापकहरूले वर्षभरि गर्नुपर्ने काम र हासिल गर्नुपर्ने सूचक उल्लेख हुन्छन्। नगरपालिकाले प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गरेपछि प्रधानाध्यापकहरूले विद्यालयका शिक्षकहरूसँग सोही किसिमको सम्झौता गर्ने शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख घुम्मनसिंह बडायकले बताए ।

उनले कार्यसम्पादन सम्झौता गर्दा सिकाइ उपलब्धि हासिल गर्न र शिक्षक तथा विद्यालयले गरेको समग्र क्रियाकलापको मूल्याङ्कन गर्न सहज हुने बताए ।

विद्यालयको शैक्षिक प्रगतिको लोखाजोखा गर्न र सिकाइमा स्वमूल्याङ्कन गर्न सहज होस् भनेर नगरपालिकाले प्रधानाध्यापकसँग र प्रधानाध्यापकले विद्यालयका शिक्षकहरूसँग कार्यसम्पादन सम्झौता गर्ने शिक्षा महाशाखा प्रमुख बडायकले बताए ।







