दिनेश राना/धनगढी – नेपाल रानाथारु समाज केन्द्रीय समिति (कैलाली र कञ्चनपुर) ले नयाँ वर्षको अवसर पारेर ‘भित्तेपात्रो-२०८३’ सार्वजनिक गरेको छ । नेपाल रानाथारु समाजको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त भित्तेपात्रोको औपचारिक विमोचन गरिएको हो । कार्यक्रममा बोल्दै समाजका महासचिव तीर्थराज रानाले रानाथारु समुदायलाई सांस्कृतिक रूपमा एकीकृत गर्ने उद्देश्यले यो भित्तेपात्रो प्रकाशन गरिएको जानकारी दिनुभयो ।
उहाँले समुदायका फरक-फरक स्थानमा हुने गतिविधि र चाडपर्वहरूमा समानता ल्याउन यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । विमोचन कार्यक्रममा अध्यक्ष कमल सिं रानाले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै अब रानाथारु समाजले आफ्ना सम्पूर्ण चाडपर्वहरू एकै साथ मनाउने घोषणा गर्नुभयो ।
“यो भित्तेपात्रोले समाजलाई भावनात्मक र सांस्कृतिक रूपमा एक सूत्रमा बाँध्न मद्दत गर्नेछ,” उहाँले भन्नुभयो, “हाम्रो पहिचान र परम्परालाई एकरूपताका साथ अगाडि बढाउनु आजको आवश्यकता हो ।” त्यसैगरी, कार्यक्रममा बोल्दै समाजका सचिवले यो भित्तेपात्रो कैलाली र कञ्चनपुरका प्रत्येक गाउँका ‘भलमन्सा’ (गाउँका मुखिया) हरूलाई वितरण गरिने बताउनुभयो ।
अबका दिनमा सबै गाउँका भलमन्साहरूले यही भित्तेपात्रोको आधारमा आफ्ना चाडपर्व र रीतिरिवाजहरू तय गर्नेछन्, जसले गर्दा सम्पूर्ण रानाथारु समुदायमा एउटै तिथि-मितिमा उत्सव मनाउने परम्पराको विकास भई समाजमा थप एकरूपता आउने विश्वास गरिएको छ ।








