नरेश राना / कञ्चनपुर
कञ्चनपुर को लालझाडी गाउँपालिका वडा नं ५ मा रहेको श्री बैजनाथ बालज्योति आधारभूत विद्यालय काे आज बसेको बैठकले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले महत्वपूर्ण निर्णय गरेको छ। बैठकबाट आउँदो आर्थिक वर्ष २०८३/०८४ देखि कक्षा एल.के.जी.देखि कक्षा ५ सम्म अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउने निर्णय गरिएको हो।
विद्यालय व्यवस्थापन समितिको बैठकमा विद्यालयको समग्र शैक्षिक स्तर सुधार गर्ने, विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन सहयोग पुर्याउने तथा अभिभावकको अपेक्षा अनुरूप शिक्षण पद्धतिमा सुधार ल्याउने विषयमा छलफल गरिएको थियो। सोही अनुसार अङ्ग्रेजी माध्यममा अध्यापन सञ्चालन गर्ने निर्णय गरिएको विद्यालय व्यवस्थापन समिति का अध्यक्ष ललित मल्ल ले जानकारी गराउनु भएको छ।
यसैगरी, नयाँ आर्थिक वर्षदेखि विद्यार्थीहरूका लागि नयाँ ट्र्याकसुट तथा विद्यालय पोशाक (ड्रेस) लागू गर्ने निर्णय पनि गरिएको छ। यसले विद्यालयको पहिचानलाई थप सुदृढ बनाउने र विद्यार्थीहरूमा अनुशासन तथा एकरूपता कायम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
विद्यालयलाई आधुनिक तथा व्यवस्थित ढङ्गले सञ्चालन गर्ने उद्देश्यका साथ विभिन्न सुधारात्मक कार्यक्रमहरू अघि बढाइने पनि जानकारी दिइएको छ। प्रधानाध्यापक श्री उमेश प्रसाद चौधरीले विद्यालयलाई नयाँ ढाँचामा अगाडि बढाउने योजनाबारे जानकारी गराउँदै आगामी दिनमा थप शैक्षिक सुधारका कार्यक्रमहरू सञ्चालन गरिने बताउनुभयो।
उक्त निर्णयसँगै विद्यालयले आगामी शैक्षिक सत्रदेखि गुणस्तरीय शिक्षामा जोड दिँदै नयाँ अभ्यासहरू लागू गर्ने लक्ष्य राखेको छ। अभिभावक तथा सरोकारवालाहरूले विद्यालयको यस पहललाई सकारात्मक रूपमा लिने विश्वास गरिएको छ।







