शुक्लाफाँटा — शुक्लाफाँटा बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो स्थापनाको चार वर्ष पूरा गरेको अवसरमा नयाँ कार्यालय उद्घाटन, साधारण सभा तथा प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ । कार्यक्रम जिल्ला समन्वय समिति सदस्य अन्जु रानाको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो ।

अधिवेशनले संस्थाको आगामी कार्यकालका लागि नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा अनिल राना चयन भएका छन् भने उपाध्यक्षमा सुग्रीव राना, सचिवमा सहोत्तर राना र कोषाध्यक्षमा सन्जु राना निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरूमा मोहन राना, जगन्नाथ राना र सोनियम राना चयन भएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अन्जु रानाले सहकारी संस्थाहरूले स्थानीय स्तरमा आर्थिक सशक्तीकरण, बचत तथा लगानी प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले सहकारीको मर्मअनुसार पारदर्शिता, उत्तरदायित्व र सदस्यहितलाई प्राथमिकतामा राख्दै काम गर्न नवनिर्वाचित कार्यसमितिलाई सुझाव दिइन् ।

नवनिर्वाचित अध्यक्ष अनिल रानाले संस्थालाई अझ सुदृढ र प्रभावकारी बनाउँदै सदस्यहरूको आर्थिक तथा सामाजिक उन्नतिका लागि प्रतिबद्ध रहने बताएका छन् । उनले सहकारीलाई नयाँ उचाइमा पुर्‍याउन सबै सदस्यहरूको सहयोग आवश्यक रहने उल्लेख गरे ।

सहकारीले विगत चार वर्षमा सदस्यहरूको बचत वृद्धि, साना व्यवसायमा लगानी तथा समुदायस्तरमा आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । नयाँ नेतृत्वसँगै संस्थाले आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह गर्ने अपेक्षा गरिएको छ ।