नरेश राना / लालझाडी

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. २ मा चौथो खखडेहरा महोत्सव आयोजना हुने भएको छ। अमर ज्योति युवा क्लबको आयोजनामा हुन लागेको उक्त महोत्सव “संस्कृति बचाऔँ, कुरीति हटाऔँ, निर्जल समाज बनाऔँ” भन्ने मूल नारासहित सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ।

आगामी फाल्गुन २६ गते अमर ज्योति युवा क्लबको फुटबल फिल्डमा आयोजना गरिने महोत्सव लालझाडी गाउँपालिका वडा नं. २ को सह–प्रायोजन तथा लालझाडी गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न हुने बताइएको छ। स्थानीय राना थारु समुदायको कला, संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको क्लबका पदाधिकारीहरूले जानकारी दिएका छन्।

महोत्सवमा राना थारु समुदायका चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। कार्यक्रममा राना थारुका चर्चित गायक तथा मोडल रामदेव राना, लोक गायक राम असरे राना, मोडल पार्वती राना, गायक शंकर राना, गायिका सिता राना, गायक अमरसिंह राना, बाल गायक ऋषिराज राना तथा बाल कलाकार दीपा रानाले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिनेछन्।

त्यसैगरी महोत्सवमा राना थारु समुदायको परम्परागत ‘होरी नाच’ सहित विभिन्न सांस्कृतिक नृत्यहरूको प्रदर्शन पनि गरिने कार्यक्रम रहेको छ। यसले स्थानीय कला, संस्कृति तथा पहिचानलाई संरक्षण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

कार्यक्रम सञ्चालन चर्चित मोडेल तथा उद्घोषिका सरस्वती राना र पारस रानाले गर्ने भएका छन्। आयोजकले महोत्सवमा स्थानीय बासिन्दा, संस्कृति प्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरेको छ।