नरेश राना / कञ्चनपुर
कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका–२ स्थित वडा कार्यालय प्राङ्गणमा ११६औँ अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रमका साथ भव्यतापूर्वक मनाइएको छ। कार्यक्रम जुनेली महिला कृषि सहकारी संस्थाको आयोजनामा सम्पन्न भएको हो।




कार्यक्रमको सभाध्यक्षता जुनेली महिला कृषि सहकारी संस्थाकी अध्यक्ष बालकुमारी रानाले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना रहनुभएको थियो। यस्तै विशिष्ट अतिथिका रूपमा लालझाडी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष आशाराम राना उपस्थित रहनुभएको थियो। कार्यक्रममा लालझाडी गाउँपालिकाकी कार्यपालिका सदस्य दिलमाया चौधरी अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रमको सुरुवात स्वागत मन्तव्यबाट गरिएको थियो। जुनेली महिला कृषि सहकारी संस्थाकी व्यवस्थापक सुस्मा रानाले स्वागत मन्तव्य व्यक्त गर्दै अन्तर्राष्ट्रिय नारी दिवसको महत्व, महिला सशक्तीकरण र समाज विकासमा महिलाको भूमिकाबारे प्रकाश पार्नुभएको थियो। उहाँले महिलाहरू आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा अझ सक्रिय हुन आवश्यक रहेको बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि तथा अन्य अतिथिहरूले पनि नारी दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै महिला अधिकार, समानता र सशक्तीकरणका विषयमा आफ्नो धारणा राख्नुभएको थियो। वक्ताहरूले समाजमा महिलाको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै महिला शिक्षाको विस्तार, आत्मनिर्भरता र नेतृत्व विकासमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा वडा नं. २ मा कार्यरत महिला स्वयंसेविकाहरूलाई दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। त्यस्तै कार्यक्रममा उपस्थित सम्पूर्ण महिलाहरूलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको आयोजकले जनाएको छ।
औपचारिक कार्यक्रमपछि सहभागीहरूले राना समुदायको परम्परागत होली खेलेर मनोरञ्जन गरेका थिए। होली खेल्दै नारी दिवसको अवसरमा एकअर्कामा खुसी साटासाट गर्दै कार्यक्रमलाई उत्साहपूर्ण बनाइएको थियो।
कार्यक्रमको सञ्चालन सुनिता रानाले गर्नुभएको थियो। कार्यक्रममा स्थानीय महिलाहरू, जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। आयोजक संस्थाले यस्ता कार्यक्रमहरूले महिलाहरूबीच एकता, आत्मविश्वास र सामाजिक सहभागिता बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।







