ज्ञानु राना / धनगढी 

होली पर्वको अवसरमा  कैलाली जिल्ला अन्तर्गत उर्मा गाउँमा होरी मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय समुदायको सक्रिय सहभागिता तथा विभिन्न गाउँका प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम उल्लासमय वातावरणमा सम्पन्न गरिएको हो।

कार्यक्रमको सभाध्यक्षता निर्मला राना  ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा  कन्द कला राना धनगढी उपमहानगरपालिका  (उपप्रमुख, ) को उपस्थिति रहेको थियो। प्रमुख अतिथि रानाले होरी पर्वले समुदायबीच आपसी प्रेम, सद्भाव र एकता बढाउने महत्वपूर्ण अवसर प्रदान गर्ने बताउँदै यस्ता सांस्कृतिक कार्यक्रमले समाजलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वडा नं. १५ का वडाध्यक्ष सुकदेव राना वडा सदस्य  दल बहादुर रोकाय वडा सदस्य  सुष्मा चौधरी  तथा वडा सदस्य  श्री मन्त्री राना लगायतको उपस्थिति रहेको थियो। अतिथिहरूले होरी पर्व नेपाली समाजको महत्वपूर्ण सांस्कृतिक परम्परा भएको उल्लेख गर्दै यसले विभिन्न समुदायबीच मेलमिलाप र भाइचारा कायम गर्न सहयोग पुर्‍याउने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा उर्मा, उर्मी, कनरी र सुर्मी गाउँका भल्मन्सा, समाजसेवी तथा बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै तमान गाउँबाट आएको होरी टोलीले परम्परागत शैलीमा होरी खेलेर कार्यक्रमलाई थप आकर्षक र उल्लासमय बनाएको थियो। सहभागीहरूले रंग, अबीर र परम्परागत गीत–संगीतका साथ होरी पर्व मनाउँदै आपसी खुशी साटासाट गरेका थिए।

स्थानीय बासिन्दाहरूका अनुसार यस्ता सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरूले समुदायबीचको सम्बन्ध अझ मजबुत बनाउने, पुराना परम्पराको संरक्षण गर्ने र नयाँ पुस्तालाई आफ्नो संस्कृति चिनाउने महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।

कार्यक्रम अन्त्यमा आयोजकहरूले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। ।