कञ्चनपुरकी महिला नेतृ बीना मगर पुनः प्रतिनिधिसभा सदस्य पदका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर-१ बाट चुनावी मैदानमा उत्रिएकी छन्।
मुलुक पञ्चायतकालदेखि गणतान्त्रिक युगमा आइपुग्दा सुदूरपश्चिमबाट पहिलो पटक पूर्ण मन्त्री बन्ने गौरव हासिल गरेकी मगर अहिले दोस्रो पटक सांसद बन्ने लक्ष्यसहित मतदातामाझ पुगेकी हुन्।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उनले खानेपानी मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। मन्त्री हुँदा उनले खानेपानी तथा ढल व्यवस्थापनसम्बन्धी विभिन्न पूर्वाधार कार्यक्रम अघि बढाएकी थिइन्।
इतिहास हेर्दा सुदूरपश्चिमबाट २०१६ सालतिर द्वारिकादेवी ठकुरानी सहायक मन्त्री बनेकी थिइन्। त्यसयता लामो समयसम्म महिलाले क्याबिनेटमा अवसर नपाएको अवस्थामा मगर सुदूरबाट पूर्ण मन्त्री बन्ने पहिलो महिला बनेकी थिइन्। सुदूरपश्चिमले झण्डै ५८ वर्षपछि महिला पूर्ण मन्त्री पाएको थियो।
मगरको राजनीतिक यात्रा जनयुद्धकालदेखि सुरु भएको हो। पूर्व विद्यार्थी नेतृसमेत रहेकी उनी पहिलो पटक २०७० सालको निर्वाचनमा उम्मेदवार बनेकी थिइन् तर पराजित भइन्।
दोस्रो प्रयासमा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा करिब ४० हजार मतसहित विजयी हुँदै संसद् प्रवेश गरिन्। त्यसपछि उनी खानेपानी मन्त्री नियुक्त भएकी थिइन्। २०७९ को निर्वाचनमा भने उनले करिब २० हजार मत प्राप्त गरे पनि पराजय भोग्नुपरेको थियो।
४२ वर्षीया मगरले यस पटक दीगो विकास र समृद्धिलाई मुख्य चुनावी एजेण्डा बनाएकी छन्। उनले धुवाँ-धुलोमुक्त सडक, हिलोमुक्त बस्ती, नदी–खोलामा पुल निर्माण र जनताका आधारभूत समस्या समाधानलाई प्राथमिकतामा राख्दै चुनावी अभियान अघि बढाइरहेकी छन्।
पुनर्वास-१ स्थित अरनिको बस्तीमा जन्मिएकी मगरले अरनिको प्राविबाट शिक्षारम्भ गरेकी हुन्। त्यसपछि गौरीशंकर निमावि हुँदै जनता मावि पुनर्वासबाट माध्यमिक शिक्षा पूरा गरी उच्च शिक्षाका लागि काठमाडौं गएकी थिइन्।
बाल्यकालदेखि नै समाजमा रहेको गरिबी, असमानता र विभेदले उनलाई राजनीतितर्फ आकर्षित गरेको बताइन्छ। २०५१ सालमा करिब ११ वर्षकै उमेरमा जनबाल कलाकारको भूमिकाबाट राजनीतिक यात्रा सुरु गरेकी मगर पछि पूर्णकालीन रूपमा माओवादी आन्दोलनमा सक्रिय भइन्।
विद्यार्थी राजनीतिमा उनले अखिल (क्रान्तिकारी) कञ्चनपुरको जिल्ला कोषाध्यक्ष र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुरको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेकी थिइन्।
काठमाडौंस्थित रत्न राज्यलक्ष्मी क्याम्पसको स्ववियू सदस्यमा अत्यधिक मतसहित विजयी भएकी मगर २०६० सालमा अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला अध्यक्षसमेत बनिन्। सोही वर्ष तत्कालीन शाही नेपाली सेनाले उनलाई गिरफ्तार गरेको थियो। भैरवनाथ गणमा करिब २७ महिना बेपत्ता अवस्थामा रहँदा उनले चरम यातना भोग्नुपरेको थियो। संयोगवश बाँच्न सफल भएकी उनी शान्ति प्रक्रियापछि पुनः सक्रिय राजनीतिमा फर्किइन्।
२०६४ सालको स्ववियू निर्वाचनमा सरस्वती क्याम्पस लैनचौरको स्ववियू सभापतिमा विजयी भएकी मगरले पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीसमेत सम्हालेकी थिइन्। पहिलो संविधानसभा निर्वाचनदेखि विभिन्न जिल्लामा पार्टी उम्मेदवार जिताउन उनले सक्रिय भूमिका खेलेकी थिइन्।
२०७४ सालमा तत्कालीन कांग्रेस उम्मेदवार दिवान विष्टलाई दोब्बर मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी मगर देशभर माओवादीका महिला उम्मेदवारमध्ये सर्वाधिक मतान्तरले जित्ने नेतृ बनेकी थिइन्। तर २०७७ पुस ५ गते संसद् विघटन भएपछि मन्त्रीको कार्यकाल अपेक्षाअनुसार प्रभावकारी बन्न सकेन।
तेस्रो प्रयासमा २०७९ को निर्वाचनमा पराजित भएकी मगर अहिले पुनः मतदाताको भरोसा जित्ने अभियानमा छिन्। कञ्चनपुर-१ मा उनी दोस्रो पटक सांसद बन्ने लक्ष्यसहित चुनावी मैदानमा सक्रिय देखिएकी छन्।







