नरेश राना/लालझाडी/कञ्ज: कञ्चनपुरको लालझाडी गाउँपालिका–२ स्थित अमर ज्योति युवा क्लबको खेलमैदान कन्जमा जारी चौथो लालझाडी अध्यक्ष कप फुटबल प्रतियोगिता–२०८२ अन्तर्गत सेमिफाइनल चरणका खेलहरू रोमाञ्चक प्रतिस्पर्धासहित सम्पन्न भएका छन्। प्रतियोगिता लालझाडी गाउँ खेलकुद समितिको आयोजनामा माघ २१ गतेदेखि सञ्चालनमा छ।

माघ २९ गते सम्पन्न सेमिफाइनलका दुई खेलमध्ये पहिलो खेलमा वेदकोट–३ र पुनर्वास–६ सिद्धार्थ युवा क्लबबीच कडा प्रतिस्पर्धा भयो। निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गर्दै वेदकोट–३ ले पुनर्वास–६ लाई पराजित गर्दै फाइनल यात्रा तय गरेको छ।
त्यसैगरी दोस्रो सेमिफाइनल खेल पुनर्वास–३ र कृष्णपुर–२ बीच भएको थियो। निर्धारित समयमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो। पेनाल्टीमा बढी गोल गर्दै कृष्णपुर–२ विजयी बनेको हो।

अब सेमिफाइनल विजेता वेदकोट–३ र कृष्णपुर–२ बीच आउँदो फागुन २ गते शनिबार फाइनल प्रतिस्पर्धा हुनेछ। आयोजकका अनुसार फाइनल खेल दिउँसो १ बजेबाट सुरु हुनेछ। प्रतियोगिताको विजेता टिमले नगद १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ७५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। साथै प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा नगद पुरस्कारसहित सम्मान गरिनेछ।
प्रतियोगितामा टिम दर्ता शुल्क ७ हजार ७ सय ७७ रुपैयाँ तोकिएको थियो भने यस संस्करणमा जम्मा १७ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ।