कञ्चनपुर । लालझाडी गाउँपालिकाको सभाहल, शंकरपुरमा स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै HPV खोप अभियान २०८२ सम्बन्धी अभिमुखीकरण कार्यक्रम २०८२ साल माघ २२ गते सफलतापूर्वक सम्पन्न भएको छ।
पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन हुन लागेको HPV खोप अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्वास्थ्यकर्मीहरूको भूमिका महत्वपूर्ण हुने भएकाले उक्त अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा खोप अभियानको उद्देश्य, लक्षित समूह, खोप लगाउने प्रक्रिया, अभिलेखीकरण, प्रतिकूल असरको व्यवस्थापन तथा समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप फोकल पर्सन आदरणीय जनक कुंवर ज्यूले सहजीकरण गर्नुभएको थियो। उहाँले HPV खोपको महत्व, राष्ट्रिय खोप कार्यक्रमसँग यसको सम्बन्ध तथा सुरक्षित र प्रभावकारी रूपमा खोप अभियान सञ्चालन गर्ने विषयमा प्रष्ट पार्दै सहभागी स्वास्थ्यकर्मीहरूलाई आवश्यक निर्देशन दिनुभएको थियो।
अभिमुखीकरण कार्यक्रममा लालझाडी गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्था तथा सम्बन्धित निकायका स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिँदै आगामी खोप अभियानलाई सफल बनाउन आफूहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका थिए।
कार्यक्रमको सफल सञ्चालनमा सहजीकरण गर्नुभएको स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप फोकल पर्सन आदरणीय जनक कुंवर ज्यू तथा उपस्थित सम्पूर्ण सहभागी महानुभावहरूप्रति आयोजक पक्षले हार्दिक कृतज्ञता व्यक्त गरेको छ। आगामी दिनमा HPV खोप अभियानलाई समुदायस्तरमा प्रभावकारी रूपमा सञ्चालन गरी जनस्वास्थ्य सुधारमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।







