लालझाडी गाउँ खेलकुद समितिको आयोजनामा चौथो अध्यक्ष कप फुटबल प्रतियोगिता–२०८२ बुधबारदेखि औपचारिक रूपमा सुरु भएको छ। स्थानीय तहमा खेलकुदको विकास, युवालाई खेलतर्फ आकर्षित गर्ने तथा आपसी सद्भाव र भाईचाराको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त प्रतियोगिता माघ २१ गतेदेखि फागुन २ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा विभिन्न पालिका तथा क्षेत्रबाट गरी जम्मा १७ वटा टिमको सहभागिता रहेको छ। प्रतियोगिताको उद्घाटन समारोह कञ्ज स्थित अमर ज्योति युवा क्लबको खेलमैदानमा भव्य रूपमा सम्पन्न भएको थियो।

उद्घाटन समारोहका सभाअध्यक्ष लालझाडी गाउँ खेलकुद समितिका अध्यक्ष प्रकाश राना रहेका थिए भने प्रमुख अतिथिमा लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना उपस्थित थिए। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वडा नं. २ का वडा अध्यक्ष आशाराम राना सहभागी थिए। साथै भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक बेदप्रसाद उपाध्यक्ष, विभिन्न वडाका जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी, सुरक्षाकर्मी, खेलाडी, प्रशिक्षक तथा ठूलो संख्यामा खेलप्रेमी दर्शकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष निर्मल रानाले खेलकुदले युवालाई अनुशासित, स्वास्थ्यवान र सकारात्मक सोच भएको नागरिक बनाउन सहयोग गर्ने उल्लेख गर्दै गाउँपालिकाले आगामी दिनमा पनि खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। सभाअध्यक्ष प्रकाश रानाले अध्यक्ष कप प्रतियोगिता लालझाडीको पहिचानसँग जोडिएको प्रतियोगिता बन्दै गएको बताउँदै सबै टिमलाई खेल भावना अनुसार प्रतिस्पर्धा गर्न आग्रह गरे।
उद्घाटन खेल भानु माध्यमिक विद्यालयको टिम र लालझाडी गाउँपालिका कर्मचारी टिमबीच मैत्रीपूर्ण खेलका रूपमा सम्पन्न भएको थियो। खेलले खेलाडी तथा दर्शकहरूमा उत्साह थपेको थियो।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख २५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद ७५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ।
प्रतियोगिताअन्तर्गत माघ २२ गते बिहीबार पहिलो खेल दिउँसो १२ बजे बेदकोट नगरपालिका–३ र पुनर्वास–२ स्थित अर्निको युवा क्लबबीच हुनेछ भने दोस्रो खेल दिउँसो २ बजे बेदकोट नगरपालिका–९ र लालझाडी गाउँपालिका–४ बीच प्रतिस्पर्धा हुने तालिका रहेको छ।
सम्पूर्ण खेलहरू कञ्ज स्थित अमर ज्योति युवा क्लबको खेलमैदानमा सञ्चालन हुनेछन्। प्रतियोगिताको उद्घाटन समारोहको सञ्चालन सुरज रानाले गरेका थिए।
आयोजकका अनुसार प्रतियोगिताले स्थानीय प्रतिभा पहिचानमा सहयोग पुग्नुका साथै क्षेत्रीयस्तरमा फुटबल खेलको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।







