नरेश राना / कञ्चनपुर
कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका वडा नं. ५ स्थित ईटहा चारपाते युवा क्लबको खेलमैदानमा ७औँ संस्करणको ICYC कप फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय युवाहरूको सक्रिय सहभागिता र खेलप्रतिको उत्साहका साथ सञ्चालन भएको प्रतियोगिताले क्षेत्रीय स्तरमा खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।

ICYC युवा क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको समापन समारोहका सभाध्यक्ष क्लबका अध्यक्ष पहिलाद राना रहनु भएको थियो। प्रमुख अतिथिका रूपमा लालझाडी गाउँपालिकाका नीवर्तमान गाउँपालिका अध्यक्ष मदन सेन बडायक रहनु भएको थियो। त्यसैगरी विशिष्ट अतिथिमा लालझाडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष पहल बहादुर थापा सहभागी हुनु भएको थियो।


समारोहमा समाजसेवी तनुक लाल चौधरी, विभिन्न सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षहरू, सहकारी संस्थाका प्रतिनिधिहरू, भल्मन्सा, समाजसेवी तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवात क्लबका सह–सचिव मोहन रानाको स्वागत मन्तव्यबाट गरिएको थियो।
प्रतियोगितामा विभिन्न स्थानबाट आएका जम्मा १५ टिमको सहभागिता रहेको थियो। प्रतियोगिताभर प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलहरू सम्पन्न भएका थिए। फाइनल खेल गन्तव्य सुधार गृह बोराडाँडी र समर्पण फुटबल क्लब गुलरिया बीच भएको थियो। दर्शकको बाक्लो उपस्थितिमा सम्पन्न फाइनल खेलमा गन्तव्य सुधार गृह बोराडाँडीले उत्कृष्ट प्रदर्शन गर्दै समर्पण फुटबल क्लब गुलरियालाई १–० गोल अन्तरले पराजित गरी उपाधि हात पारेको हो।
उपाधि विजेता गन्तव्य सुधार गृह बोराडाँडीले नगद रु. १,३१,१३१ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै उपविजेता समर्पण फुटबल क्लब गुलरियाले नगद रु. ७१,१७१ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।
समापन समारोहमा बोल्दै प्रमुख अतिथि गाउँपालिका नी वर्तमान अध्यक्ष मदन सेन बडायकले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सकारात्मक दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आगामी दिनमा स्थानीय तहबाट खेलकुद प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। विशिष्ट अतिथि वडा अध्यक्ष पहल बहादुर थापाले यस्ता प्रतियोगिताले स्थानीय प्रतिभाको पहिचान गर्न मद्दत गर्ने उल्लेख गर्नु भयो।
आयोजक ICYC युवा क्लबले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, खेलाडी, दर्शक, स्वयंसेवक तथा सहयोगी संघ–संस्थाप्रति धन्यवाद व्यक्त गरेको छ।







