भोलि सेमिफाइनलका खेल हुँदै

नरेश राना

लालझाडी, कञ्चनपुर

कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका–५ स्थित ईटहा चारपाते युवा क्लबको आयोजनामा सञ्चालन भइरहेको ७औँ ICYC कप फुटबल प्रतियोगिताअन्तर्गत छैटौँ दिनका खेल आइतबार सफलतापूर्वक सम्पन्न भएका छन्। प्रतियोगिताले स्थानीयस्तरका फुटबल खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरिरहेको छ भने खेलप्रेमी दर्शकहरूको उल्लेख्य उपस्थितिले प्रतियोगिताको रौनक थपिएको छ।

छैटौँ दिनको पहिलो खेल SSDO सुन्दरपुर बेतकोट र संघर्ष स्पोर्ट क्लब अत्तरिया बीच अत्यन्तै प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भयो। खेलको सुरुवातदेखि नै दुवै टोलीले आक्रामक खेल प्रस्तुत गर्दै गोलका अवसर सिर्जना गरेका थिए। निर्धारित समयमा दुवै टोलीबाट एक–एक गोल भएपछि खेल १–१ को बराबरीमा टुंगियो। त्यसपछि निर्णय पेनाल्टी सुटआउटमार्फत गरिएको थियो। पेनाल्टी सुटआउटमा संघर्ष स्पोर्ट क्लब अत्तरिया ४–३ ले विजयी हुँदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका दिनेश नेपाली म्यान अफ द म्याच घोषित भए।

त्यसैगरी छैटौँ दिनको दोस्रो खेल आशिष डी.जे. एण्ड टेन्ट हाउस देखतभुली र सम्पूर्ण फुटबल क्लब कृष्णपुर–६ बीच सम्पन्न भयो। खेलको सुरुवातदेखि नै दुवै टोली आक्रामक देखिए पनि सशक्त डिफेन्स र गोलरक्षकको उत्कृष्ट प्रदर्शनका कारण निर्धारित समयमा कुनै पनि टोलीले गोल गर्न सकेन। खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमार्फत नतिजा निकालिएको थियो। पेनाल्टीमा सम्पूर्ण फुटबल क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भयो। उक्त खेलका म्यान अफ द म्याच दिलीप बी.के. घोषित भए।

आयोजक ईटहा चारपाते युवा क्लबका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद रु. १,३१,१३१ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद रु. ७१,१७१, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगितामा विभिन्न स्थानबाट सहभागिता जनाएका टोलीहरूबीच प्रतिस्पर्धा हुँदै आएको छ, जसले ग्रामीण क्षेत्रमा फुटबल खेलको स्तर उकास्न सहयोग पुगेको आयोजकको भनाइ छ।

आयोजकले प्रतियोगिताले स्थानीय युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्नुका साथै आपसी सद्भाव, अनुशासन, सहकार्य र स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। ग्रामीण भेगमा खेलकुद गतिविधिलाई निरन्तरता दिन यस्ता प्रतियोगिताहरू आवश्यक रहेको उनीहरूको धारणा छ।

यसैबीच प्रतियोगिताअन्तर्गत भोलि (मिति: २०८२/१०/१९) सेमिफाइनलका खेलहरू सञ्चालन हुनेछन्। सेमिफाइनलको पहिलो खेल संघर्ष स्पोर्ट युवा क्लब र गन्तव्य सुधार गृह बोराडाँडी बीच हुने आयोजकले जानकारी दिएका छन्। त्यसैगरी दोस्रो सेमिफाइनल खेल ICYC रेड र सम्पूर्ण फुटबल क्लब सेमिफाइनलमा प्रतिस्पर्धा हुने बताइएको छ।

प्रतियोगिता सञ्चालन अवधिभर दैनिक रूपमा स्थानीय खेलप्रेमी दर्शकहरूको उल्लेख्य उपस्थिति रहँदै आएको छ। दर्शकहरूको उत्साहजनक समर्थनले खेलाडीहरूलाई थप मनोबल मिलेको देखिन्छ। प्रतियोगिताले लालझाडी क्षेत्रलाई खेलकुद गतिविधिमा सक्रिय बनाएको भन्दै स्थानीयवासीहरूले आयोजकको प्रशंसा गरेका छन्।