नरेश राना

लालझाडी, कञ्चनपुर

कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका–५ स्थित ईटहा चारपाते युवा क्लबको खेलमैदानमा जारी ७औँ ICYC कप फुटबल प्रतियोगिताअन्तर्गत पाँचौँ दिनका खेलहरू शनिबार सफलतापूर्वक सम्पन्न भएका छन्। स्थानीय युवाहरूको सक्रिय सहभागिता र दर्शकहरूको उल्लेख्य उपस्थितिका बीच प्रतियोगिता थप रोचक बन्दै गएको छ।

पाँचौँ दिनको पहिलो खेल BYC तेघरी र गन्तव्य सुधार गृह बोराडाँडीबीच निकै प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भएको थियो। दुवै टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दै एक–एक गोल गरेका थिए। निर्धारित खेल समयसम्म खेल १–१ को बराबरीमा सकिएपछि नतिजा पेनाल्टी सुटआउटमार्फत निकालिएको थियो। पेनाल्टी सुटआउटमा गन्तव्य सुधार गृह बोराडाँडीले ५-४ ले बाजी मार्दै प्रतियोगिताको अर्को चरणमा स्थान सुरक्षित गर्न सफल भयो।

त्यसैगरी पाँचौँ दिनको दोस्रो खेल स्वतन्त्र युवा क्लब र ICYC रेडबीच सम्पन्न भएको थियो। खेलको सुरुवातदेखि नै आक्रामक देखिएको ICYC रेडले उत्कृष्ट तालमेल र रणनीतिका साथ खेल्दै स्वतन्त्र युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको थियो। ICYC रेडको जितसँगै टोलीले प्रतियोगितामा आफ्नो दाबेदारी बलियो बनाएको छ।

आयोजक ईटहा चारपाते युवा क्लबका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद रु. १,३१,१३१ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद रु. ७१,१७१, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगितामार्फत स्थानीय स्तरका प्रतिभावान खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर मिलेको आयोजकको भनाइ छ।

आयोजकले प्रतियोगिताले स्थानीय युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्नुका साथै आपसी सद्भाव, अनुशासन र स्वास्थ्यप्रति सचेतना बढाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। ग्रामीण क्षेत्रमा फुटबल खेलको विकास र निरन्तरताका लागि यस प्रकारका प्रतियोगिता महत्वपूर्ण हुने आयोजकको धारणा रहेको छ।

यसैबीच प्रतियोगिताअन्तर्गत भोलि (मिति: २०८२/१०/१८) दोस्रो चरणका खेलहरू सुरु हुनेछन्। दोस्रो चरणको पहिलो खेल संघर्ष सपोर्ट क्लब, अत्तरियाले SSDO सुन्दरपुर, बेतकोटसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै दोस्रो खेल आशिष डी.जे. टेन्ट हाउस, भुली–५ र सम्पूर्ण फुटबल क्लब, कृष्णपुर–६ बीच हुने आयोजकले जानकारी दिएका छन्।

प्रतियोगिता अवधिभर दैनिक रूपमा स्थानीय खेलप्रेमी दर्शकहरूको उल्लेख्य उपस्थिति रहँदै आएको छ। दर्शकहरूको उत्साहजनक समर्थनले खेलाडीहरूलाई थप मनोबल मिलेको देखिन्छ। प्रतियोगिताले लालझाडी क्षेत्रमा खेलकुद गतिविधि चलायमान बनाएको स्थानीयवासीहरूको प्रतिक्रिया रहेको छ।