नरेश राना / कञ्चनपुर
कञ्चनपुर को शुक्लाफाटा नगरपालिका–१२ कालागौडी कुण्डा टोलमा अवस्थित घटाल युवा क्लबले सडक चोक तथा अन्य आवश्यक स्थानहरूमा सडक बत्ती जडान गर्न माग गर्दै वडा कार्यालयमा औपचारिक निवेदन पेश गरेको छ। राष्ट्रिय निकुञ्जसँग सटिएको जोखिमयुक्त क्षेत्र भएकाले रातको समयमा स्थानीयवासीहरूलाई आवतजावतमा कठिनाइ हुनुका साथै जंगली जनावर, विशेषगरी हात्तीको जोखिम बढ्दै गएको क्लबले जनाएको छ।
क्लबका अनुसार कुण्डा टोल शुक्लाफाटा राष्ट्रिय निकुञ्जको सीमावर्ती क्षेत्र भएकाले बेलुका तथा रातको समयमा हात्ती लगायतका जंगली जनावर बस्ती नजिक आउने गरेका छन्। सडक बत्तीको अभावमा स्थानीयवासी, विद्यार्थी, मजदुर तथा सर्वसाधारणलाई हिँडडुल गर्न समस्या हुनुका साथै दुर्घटनाको सम्भावना समेत बढेको छ। यस अवस्थालाई मध्यनजर गर्दै क्लबले विशेषगरी जोखिमयुक्त चोक, सडक र आवतजावत बढी हुने स्थानहरूमा तत्काल सडक बत्ती जडान गर्न माग गरेको हो।
घटाल युवा क्लबका अध्यक्ष कवीर पन्तले नागरिकको सुरक्षा पहिलो प्राथमिकता भएको उल्लेख गर्दै भन्नुभयो, “रातको समयमा अँध्यारोका कारण जंगली जनावरको जोखिम झनै बढेको छ। सर्वसाधारणको ज्यान र सम्पत्तिको सुरक्षाका लागि सडक बत्ती अत्यावश्यक भइसकेको छ। त्यसैले वडा कार्यालयसँग तत्काल पहलको माग गरेका हौं।”
यस विषयमा प्रतिक्रिया दिँदै वडा नं. १२ का वडा अध्यक्ष नवलसिंह रानाले चोकहरूमा जडान गर्नका लागि आवश्यक सडक बत्तीहरू पहिल्यै उपलब्ध गराइएको जानकारी दिनुभयो। उहाँका अनुसार विगतमा भएको जन्जी आन्दोलनका क्रममा ती बत्तीहरू चोरी भएकाले जडान कार्यमा ढिलाइ भएको थियो।
वडा अध्यक्ष रानाले भन्नुभयो, “हामीले सडक बत्ती जडानका लागि सामग्रीको व्यवस्था गरिसकेका थियौं तर चोरीका कारण काम प्रभावित भयो। अहिले पुनः व्यवस्थापनको प्रक्रिया अगाडि बढेको छ र चालु महिनाभित्र आवश्यक स्थानहरूमा सडक बत्ती जडान गरिनेछ।”
स्थानीयवासीहरूले पनि सडक बत्ती जडान भएपछि रातको समयमा आवतजावत सहज हुने, जंगली जनावरको जोखिम कम हुने र समग्र रूपमा सुरक्षाको अनुभूति बढ्ने अपेक्षा गरेका छन्। क्लब तथा स्थानीय सरोकारवालाहरूले वडा कार्यालयले जनाएको प्रतिबद्धता छिटो कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन्।







