नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ। पार्टी स्रोतका अनुसार कैलाली क्षेत्र नम्बर ३ बाट विरमान चौधरी र क्षेत्र नम्बर ४ बाट हरि चौधरी उत्सवको नाम निश्चित गरिएको छ। कैलाली क्षेत्र नम्बर १, २ र ५ का उम्मेदवारबारे भने अझै छलफल जारी रहेको जनाइएको छ।
कञ्चनपुर जिल्लामा क्षेत्र नम्बर १ बाट विना मगर, क्षेत्र नम्बर २ बाट लालबहादुर खड्का र क्षेत्र नम्बर ३ बाट मानबहादुर सुनाको नाम उम्मेदवारका रूपमा टुङ्गो लागेको छ। अछाम जिल्लामा क्षेत्र नम्बर १ बाट भीम रावल र क्षेत्र नम्बर २ बाट शरदसिंह भण्डारी उम्मेदवार बन्ने भएका छन्।
त्यस्तै, डडेल्धुराबाट मानसिंह माल, दार्चुलाबाट लक्ष्मणदत्त जोशी र बझाङबाट मीनबहादुर कुवर उम्मेदवार बन्ने भएका छन्। बैतडी जिल्लामा परमानन्द भट्ट, डोटीमा त्रिलोचन भट्ट र बाजुरामा प्रकाश शाहको नाम उम्मेदवारका रूपमा निश्चित गरिएको छ।
पार्टीले अधिकांश जिल्लामा उम्मेदवारको टुङ्गो लगाइसकेको भए पनि केही निर्वाचन क्षेत्रमा थप परामर्श र आन्तरिक छलफलपछि अन्तिम निर्णय सार्वजनिक गरिने जनाएको छ। सुदूरपश्चिम प्रदेशमा चुनावी तयारीलाई तीव्र बनाउँदै नेकपाले संगठन परिचालन र चुनावी अभियानसमेत अगाडि बढाउने तयारी गरेको स्रोतले बताएको छ।







