कञ्चनपुरको बेलौरी नगर भलमन्सा समितिको आयोजना तथा बेलौरी नगरपालिकाको आर्थिक सहयोगमा “राष्ट्रिय एकता व विविधता हमार शान, थारू भाषा, संस्कृति बचैना हमार अभियान”भन्ने मूल नारा सहित बेलौरीको खुला मञ्चमा पौष २६ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने माघ म्याला २०८२ को शनिबार पूर्व खानेपानी मन्त्री बिना मगरले औपचारिक उद्घाटन गर्नुभएको छ।

कार्यक्रमको सभापति बेलौरी नगर भलमन्सा समितिका अध्यक्ष अमर चौधरी, प्रमुख अतिथि पूर्व खानेपानी मन्त्री बिना मगर,बिशिष्ट अतिथि संविधान सभा सदस्य एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट, बेलौरी नगरपालिकाका नगर प्रमुख पोति लाल चौधरी, नगर उप प्रमुख जोगराम चौधरी,अतिथिमा नगरपालिका नगर प्रवक्ता हर्क बहादुर भूल,थारु कल्याकारिणी सभा कञ्चनपुरका अध्यक्ष सुनिता चौधरी,बेलौरी नगरपालिकाका वडा नम्बर १ देखि १० सम्मका वर्तमान एवं निर्वतमान वडाध्यक्ष, रामनगर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दीपा चौधरी,राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि,सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख जोगराम चौधरीले माघ म्याला सँगै सबै जातजातिका मौलिक सांस्कृतिक कार्यक्रम समेटिएकाले सामाजिक सद्भाव र एकता मजबुत हुनुका साथै स्थानीय कला, संस्कृति र पहिचानको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताउनुभयो।

 कार्यक्रमको अवसरमा रक्तदान साथै थारु समुदायको मौलिक कला, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले थारु परम्परागत खानाका परिकार, थारु समुदायले विगतमा प्रयोग गर्दै आइरहेका सामग्रीहरु प्रदर्शनी,सांस्कृतिक कार्यक्रममा सखिया, मघौटा, झुम्रा तथा रानाथारु समुदायको होरी नाच प्रस्तुत गरिएको थियो। कार्यक्रममा चर्चित गायक मनिराम चौधरी र लक्ष्मी रानाको बेजोड प्रस्तुति रहेको थियो।कार्यक्रममा बोल्दै बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले आउँदै गरेको माघि पर्वको शुभकामना व्यक्त गर्दै नगरभित्र बसोबास गर्ने सबै जातजातिका मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई नगरपालिका सदैव प्राथमिकतामा राख्दै आएको बताउँदै सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुत बनाउने यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिँदै आवश्यक सहयोग र सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।कार्यक्रममा बोल्दै विशिष्ट अतिथि, संविधान सभा सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले यस्ता सांस्कृतिक मेलाले समाजमा आपसी सद्भाव बढाउँदै विविधतामा एकता कायम गर्न सहयोग पुग्ने बताउनुभयो।कार्यक्रमका प्रमुख अतिथि पूर्व खानेपानी मन्त्री बिना मगरले माघि पर्व थारु र मगर समुदायको मौलिक पहिचान, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसर भएको बताउँदै यस्ता पर्वले सामाजिक एकता मजबुत बनाउनुका साथै स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो।पूर्वमन्त्री मगरले आफू मन्त्री हुँदा कंचनपुर क्षेत्र नम्बर १ खानेपानीका योजना सहित थुप्रै विकास गरेको दाबी गर्नुभयो।   कार्यक्रमको समापनमा बोल्दै सभापति तथा बेलौरी नगर भलमन्सा समितिका अध्यक्ष अमर चौधरीले माघि पर्व थारु समुदायले नयाँ वर्षको रूपमा मनाउने परम्परा रहेको बताउनुभयो। उहाँले प्रत्येक वर्ष गाउँ–टोलमा नयाँ भलमन्सा चयन गर्ने चलन रहेको र यस पर्वले थारु समुदायको ऐतिहासिक संस्कार, जीवनशैली र सांस्कृतिक सम्पदालाई भावी पुस्तासम्म हस्तान्तरण गर्न महत्वपूर्ण सहयोग पुर्‍याउने बताउनुभयो। कार्यक्रमको सहजीकरण बेलौरी नगर भलमन्सा समितिका सचिव विक्रम बखरियाले गर्नुभएको थियो।