नरेश राना / कञ्चनपुर
कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकामा १६ औँ राष्ट्रपति रनिङ सिल्ड तथा सातौँ लालझाडी गाउँपालिका स्तरीय छनौट प्रतियोगिता भव्य रूपमा सुरु भएको छ। भानु माध्यमिक विद्यालय को व्यवस्थापन मा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।

उद्घाटन कार्यक्रममा लालझाडी खेलकुद विकास समितिका अध्यक्ष प्रकाश रानाको सभाध्यक्षता रहेको थियो भने लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना प्रमुख अतिथिको रूपमा उपस्थित रहनु भएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर २ का वडा अध्यक्ष आशा राम राना, वडा नम्बर ५ का वडा अध्यक्ष पहल बहादुर थापा तथा शिक्षा शाखा अधिकृत सिद्धराज भट्टको उपस्थिति रहेको थियो।

यसका साथै प्रतियोगितामा सहभागी विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष निर्मल रानाले खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै खेलकुद प्रतिभाको पहिचान र प्रोत्साहनका लागि गाउँपालिका सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले प्रतियोगितामा स्वर्ण पदक जित्ने प्रत्येक खेलाडीलाई गाउँपालिकाको तर्फबाट जनही पाँच हजार रुपैयाँ सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

१६ औँ राष्ट्रपति रनिङ सिल्ड तथा सातौँ लालझाडी गाउँपालिका स्तरीय छनौट प्रतियोगितामा गाउँपालिकाभित्रका जम्मा ७ वटा माध्यमिक तहका विद्यालयहरूको सहभागिता रहेको छ। प्रतियोगितामा विभिन्न खेल विधा समावेश गरिएका छन्, जसबाट उत्कृष्ट खेलाडी छनोट गरी आगामी जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगिताका लागि प्रतिनिधित्व गराइने आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगिता आगामी मिति १९ गते समापन हुने छ। प्रतियोगिताले गाउँपालिकामा खेलकुदप्रति चासो बढाउनुका साथै उदीयमान खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।







