अनलाइन टिभी पत्रकार संघ, कञ्चनपुरको प्रथम जिल्ला अधिवेशन हिजो शनिबार सम्पन्न भएको छ। अधिवेशनबाट संघको पहिलो अध्यक्षमा प्रकाश भट्ट निर्वाचित भएका छन्। अधिवेशनले अध्यक्ष भट्टको नेतृत्वमा ९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत तथा निर्वाचन प्रक्रियामार्फत चयन गरेको हो।
बेलौरी नगरपालिकाको सभाहलमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा लाल बहादुर एसके, सचिवमा सन्तोष धानुक, सह-सचिवमा दिनेश चौधरी, कोषाध्यक्षमा सरिता चौधरी तथा सदस्यहरूमा केशब भट्टराई, रुपेश विक, पवन जोशी र महेन्द्र सिंह भाट चयन भएका हुन।

अध्यक्ष र सचिव पद बाहेक अन्य पदहरूमा सहमतिबाट नेतृत्व चयन गरिएको थियो। अध्यक्ष र सचिव पदमा एकभन्दा बढी उम्मेदवार परेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो। निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार प्रकाश भट्टले १७ मत प्राप्त गरी निर्वाचित भए भने प्रतिस्पर्धी सुरज श्रेष्ठले ७ मत प्राप्त गरेका थिए। यस्तै सचिव पदमा सन्तोष धानुकले १७ मत प्राप्त गरी विजयी हुँदा केशब भट्टले ७ मत प्राप्त गरेका थिए।
तदर्थ समितिका संयोजक प्रकाश भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट रहेका थिए। बिष्टले पत्रकारिता मर्यादित र जिम्मेवार हुनुपर्नेमा जोड दिँदै केही पत्रकारहरू आपराधिक गतिविधिसँग जोडिने गरेको विषय गम्भीर रहेको उल्लेख गरे।

कार्यक्रमका विशिष्ट अतिथि बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले अधिवेशनले सही नेतृत्व चयन गर्दै पत्रकारितालाई अझ जिम्मेवार र विश्वसनीय बनाउने विश्वास व्यक्त गरे। उपप्रमुख जोगराम चौधरीले पत्रकारले उठाएका सवाल र आवाजलाई निरन्तर रूपमा उठाइराख्नुपर्ने आवश्यकता औंल्याए।
यस्तै वडा नं. ४ का अध्यक्ष अर्जुन ढकालले शुभकामना मन्तव्य व्यक्त गरे भने अनलाइन टिभी पत्रकार संघ सुदूरपश्चिम प्रदेश कार्यसमिति अध्यक्ष भक्तराज जोशीले अनलाइन पत्रकारिताको प्रभाव बढ्दै गएको भए पनि अझै पूर्ण रूपमा आम विश्वास जित्न बाँकी रहेको बताए। सबैको सहकार्य र समर्थनले अनलाइन पत्रकारितालाई अझ मर्यादित र प्रभावकारी बनाउन सकिने उनको भनाइ थियो।
अधिवेशनमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका सदस्य अर्जुन सिंह, प्रदेश परिषद् सदस्यहरू तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।







