नरेश राना / कञ्चनपुर
कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका वडा नम्बर ४ मा अवस्थित श्री कञ्चन सामुदायिक वन उपभोक्ता समूहको १२औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। सामुदायिक वनको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, वन कार्यालयका अधिकारी, विभिन्न सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि तथा उपभोक्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लक्ष्मण सिंह ऐरको अध्यक्षतामा सम्पन्न भएको थियो। सभाका प्रमुख अतिथि लालझाडी गाउँपालिकाकी उपाध्यक्ष सपना चौधरी राना रहनु भएको थियो भने विशिष्ट अतिथिका रूपमा डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख करुणाकर जोशी, सामुदायिक वन समन्वय समिति (CFCC) कञ्चनपुरका उपाध्यक्ष नरेश भट्ट तथा लालझाडी गाउँपालिकाका वडा सदस्य गर्भू राना रहनु भएको थियो।

सभामा बोल्दै प्रमुख अतिथि उपाध्यक्ष सपना चौधरी रानाले सामुदायिक वन संरक्षण, दिगो व्यवस्थापन र स्थानीय उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताउनु भयो। उहाँले सामुदायिक वनले वातावरण संरक्षणसँगै स्थानीय आर्थिक सशक्तीकरणमा समेत महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा गाउँपालिकाबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै, डिभिजन वन कार्यालयका प्रमुख करुणाकर जोशीले सामुदायिक वन उपभोक्ता समूहहरूले वन संरक्षणसँगै आयआर्जनमूलक कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो। उहाँले वन स्रोतको दीगो उपयोग र संरक्षणमा उपभोक्ता समूहको भूमिका प्रशंसनीय रहेको बताउनुभयो।

कार्यक्रममा समूहकी उपाध्यक्ष बन्धो रानाले स्वागत मन्तव्य राख्नु भएको थियो। सभामा समूहकी कोषाध्यक्ष रेस्मा रानाले आर्थिक आय–व्यय प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्षमा कुल २६ लाख ५४ हजार ३ सय १०रुपैयाँ बराबरको कारोबार भएको जानकारी दिनुभयो।
साधारण सभाका क्रममा गाउँका चौकीदार (चाकर) लाई सामुदायिक वन उपभोक्ता समूहको तर्फबाट न्यानो कपडा तथा नगद सहित सम्मान गरिएको थियो। यस कार्यले समुदायमा योगदान पुर्याउने व्यक्तिहरूप्रति कृतज्ञता व्यक्त गर्ने संस्कृतिलाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।
सभामा विभिन्न सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, वन रक्षक, भल्मन्सा तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो। कार्यक्रमलाई अझ आकर्षक बनाउन सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो।
कार्यक्रमको सञ्चालन बैजनाथ बहुभाषिक आधारभूत विद्यालयका शिक्षक डबल बहादुर रानाले गर्नुभएको थियो।







