लालझाडी, कञ्चनपुर —
संघीय संसदको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिका माननीय सदस्यहरू र स्थानीय तहका जनप्रतिनिधिबीच विधायिकी अन्तरसम्बन्ध तथा कानुन निर्माणसम्बन्धी अन्तरक्रिया कार्यक्रम आज लालझाडी गाउँपालिका, कञ्चनपुरमा सम्पन्न भएको छ।

गाउँपालिकाको पहलमा आयोजित उक्त कार्यक्रममा लालझाडी गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासनिक अधिकृत, वडा नं. २ का वडा अध्यक्ष, साथै लालझाडी गाउँपालिकाको विधायन समितिका पदाधिकारीहरूको सक्रिय उपस्थिति थियो। कार्यक्रमले संघीय, प्रदेश र स्थानीय तहबीचको अधिकारक्षेत्र, कार्य विभाजन, कानुन निर्माण प्रक्रिया तथा विधायन अभ्यासका चुनौती तथा सुधारका उपायबारे महत्वपूर्ण छलफल गरेको थियो।

अन्तरक्रिया कार्यक्रममा नेपालमा तीनै तहका सरकारी संरचनाबीच सुसम्बन्ध र समन्वयका अभावले देखिने व्यवहारिक समस्याहरूका बारेमा सहभागीहरूले आफ्ना धारणा राखेका थिए। संघीय संसदका माननीय सदस्यहरूले स्थानीय तहमा कानुन निर्माणको गुणस्तर, प्रक्रियागत स्पष्टता, कार्यान्वयन क्षमता र प्राविधिक तयारी अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।

त्यस्तै, अध्ययन–अधिकारक्षेत्रअनुसार संघीय एकाइहरूबीचको अन्तरसम्बन्ध तथा विधायिकी अभ्यासका विभिन्न पक्षहरूबारे विस्तृत रूपमा छलफल गरिएको थियो। स्थानीय जनप्रतिनिधिहरूले गाउँपालिका तथा वडास्तरमा कानुन निर्माण गर्दा देखिने व्यवहारिक कठिनाइ, प्राविधिक जनशक्ति अभाव, रूपरेखा निर्माणका चुनौती र प्रदेश तथा संघसँग समन्वय अभाव जस्ता विषयहरू उजागर गरेका थिए।

कार्यक्रमले स्थानीय तहमा तयार गरिने कानुनहरू संघीय कानुनसँग मेल खाने, व्यवहारिक तथा कार्यान्वयनयोग्य हुने गरी विधायन प्रक्रियालाई अझ प्रभावकारी बनाउने दिशामा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।