लालझाडी — आर्थिक वर्ष २०८१/०८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरिय एकीकृत वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा लालझाडी गाउँपालिका स्वास्थ्य प्रगति सूचक तथा कार्यसम्पादन मूल्यांकनको आधारमा प्रथम स्थान हासिल गर्न सफल भएको छ।
यो उपलब्धिले गाउँपालिकाको स्वास्थ्य सेवा सुधारतर्फको प्रतिबद्धता, नेतृत्व र सामूहिक प्रयासको प्रतिफलका रूपमा लिइएको छ।

गाउँपालिकाले यस उल्लेखनीय सफलता प्राप्त गर्न सहयोग पु-याउने सबै पक्षप्रति हार्दिक धन्यवाद प्रकट गरेको छ। गाउँपालिका अध्यक्षज्यू, उपाध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा अध्यक्षज्यूहरू, गाउँ कार्यपालिका सदस्यज्यूहरू, स्वास्थ्य शाखामा कार्यरत सहकर्मीज्यूहरू, गाउँपालिकाअन्तर्गतका नौवटै स्वास्थ्य संस्था प्रमुखज्यूहरू, रातदिन खटिने समर्पित स्वास्थ्यकर्मीज्यूहरू, विषयगत शाखाका प्रमुखज्यूहरू, महिला स्वास्थ्य स्वयंसेवकज्यूहरू, आमा समूहका सदस्यज्यूहरू, साथै नियमित मार्गदर्शन र साथ–सहयोग प्रदान गर्ने स्वास्थ्य कार्यालय कञ्चनपुर परिवार, स्वास्थ्य निर्देशनालय दिपायल, तथा विकास साझेदार संघ–संस्थाका प्रतिनिधिज्यूहरू प्रती विशेष आभार व्यक्त गरिएको छ।
गाउँपालिकाले भविष्यमा पनि जनमुखी, गुणस्तरीय र दिगो स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ अझ प्रभावकारी कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। गाउँपालिकाको नेतृत्वले समुदायमै आधारित स्वास्थ्य सेवा विस्तार, मातृ–शिशु स्वास्थ्य, सरसफाइ र जनचेतना अभिवृद्धि जस्ता क्षेत्रहरूलाई प्राथमिकताका रूपमा अघि बढाउने योजना बनाएको छ।
यस उपलब्धिले लालझाडी गाउँपालिकाको स्वास्थ्य क्षेत्रप्रति समग्र प्रतिबद्धता र दक्षताको पहिचान गरेको भन्दै सहभागी पक्षहरूले बधाई र शुभकामना व्यक्त गरेका छन्।







