कैलालीको चौकीडाँडा–फल्टुडे सडकका निर्माण कम्पनी विरुद्ध अत्तरियामा प्रदर्शन

२३ भाद्र २०८२, सोमबार
कैलालीको चौकीडाँडा–फल्टुडे सडकका निर्माण कम्पनी विरुद्ध अत्तरियामा प्रदर्शन

‎धनगढी : कैलालीको चौकीडाँडा–फल्टुडे सडकका निर्माण कम्पनीहरू विरुद्ध अत्तरियामा प्रदर्शन गरिएको छ। सडक निर्माण गर्ने कम्पनीले ढिलासुस्ती र लापर्बाही गरेको भन्दै विरोध ¥याली निकालिएको हो।

‎चौकीडाँडा–फल्टुडे सडक निर्माण सङ्घर्ष समितिको आयोजन र गोदावरीका जनप्रतिनिधिको उपस्थितिमा विरोध ¥याली निकालिएको छ। चक्काजामको घोषणा गरिएको भए पनि कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालसहित निर्माण व्यवसायीहरूले बिहान ओलानीमै पुगेर भोलिदेखि काम सुरु गर्ने र आज दिउसो २ बजे लिखित प्रतिबद्धता जनाएपछि चक्काजामको कार्यक्रम रोकेर विरोध ¥याली र कोष सभाको आयोजना गरिएको हो।

‎कोण सभालाई सम्बोधन गर्दै गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले ६ वर्ष अघि ठेक्का भएको सडक ठेकेदारले समयमा निर्माण नगरिदिँदा अहिलेको अवस्था आएको बताए। उनले पटक–पटक स्थानीय सरकारले समयमा काम सक्नको लागि पहल गरे पनि नतिजा नआएपछि बाध्य भएर सडकमा आउनु परेको बताए।

‎उनले आइतवार पत्रकार सम्मेलन गरेर चक्काजाम गरिने बताए पनि सिडिओ बिहानै ओलानीमा पुगेर आजै सहमति गर्ने प्रतिबद्धता जनाएपछि आफूहरूले प्रशासनलाई सहयोग गर्दै चक्काजाम रोकेको बताए। उनले अब भोलिदेखि काम सुरु भएर एक दिन पनि काम रोकिए पुनः आन्दोलन गरिने चेतावनी दिए।


‎वडा नम्बर ३ का वडाध्यक्ष तेजराज अवस्थीले आन्दोलनका कार्यक्रम अन्तर्गत सडकमै वडा कार्यालय सञ्चालन गर्ने कार्यक्रम गर्दा सुनुवाइ नभएपछि सडकमा उत्रिनु परेको बताए।

‎ओलानी सडकका अटो व्यवसायी राजु विकले भने चक्काजामको कार्यक्रम गर्ने भनेर ब्यानर छाप्दा पनि भनेअनुसार कार्यक्रम नगरिनु धोका भएको बताए। उनले राजनीतिक हस्तक्षेपका कारण चक्काजामको कार्यक्रम रोकिएको दाबी गर्दै अब ओलानीवासी चुप लागेर नबस्ने बताए।

‎सङ्घर्ष समितिका संयोजक विक्रम विकले आज गरिने सम्झौता पछि पनि घात गरिए अब एक दुई घण्टा नभएर सडक पुरै ठप्प गरिने बताए।

‎प्रदेश सरकारले ६ वर्ष अघि निर्माण गर्ने भन्दै ठेक्कामा लगाएको चौकिडाँडा फल्टुडे सडक कालोपत्रे नभएपछि गोदावरीको वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिले आन्दोलनका कार्यक्रम सुरु गरेका थिए। जसअनुसार बिहीवार र शुक्रवार सडकमै वडा कार्यालय सञ्चालन गरेका उनीहरूले सोमवार अत्तरिया चोकमा विरोधका कार्यक्रम गरेका हुन।

‎चौकीडाँडादेखि फल्टुडे जोड्ने उक्त सडक कालोपत्रे गर्न सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷०७७ को बजेटबाट अढाई किलोमिटर कालोपत्रे गर्ने भन्दै ठेक्का सम्झौता गरेको थियो। दोस्रो खण्डको उक्त सडक निर्माणका लागि २०७७ भदौ १८ गते एड्भेन्चर, थिगिम, सन्लाईट जेभिसँगै सम्झौता भए पनि हालसम्म उक्त सडक कालोपत्रे हुन सकेको छैन।

‎दोस्रो खण्डको काम नहुँदै प्रदेश सरकारले नै तेस्रो खण्ड निर्माणका लागि २०७९ चैत्र १८ गते तेडी निर्माण सेवा सँग सम्झौता गरे पनि उक्त सडक कालोपत्रेको काम पनि अलपत्र अवस्थामा रहेको छ। प्रदेश मार्फत ओलानी जोड्ने मुख्य सडक मध्ये साढे ५ किलोमिटर सडक दुई ठेकेदारले अलपत्र परेपछि गोदावरीका जनप्रतिनिधि सँगै स्थानीय आन्दोलित भएका छन्।

Wedding Story advertisement Of Jems Movies & Photo Studio