बेलडाँडीमा जारी फुटबल प्रतियोगिता उपाधीका लागि आज झिलमिला र दोधारा भिड्दै

१४ भाद्र २०८२, शनिबार
बेलडाँडीमा जारी फुटबल प्रतियोगिता उपाधीका लागि आज झिलमिला र दोधारा भिड्दै

विकास महता/बेलडाँडी । कञ्चनपुरको बेलडाँडीमा जारी आठौं बेलडाँडी खुला नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि भिडन्त हुने भएको छ।

अल स्टार युवा क्लबको आयोजनामा गौरा पर्वको अवसरमा भदौ ७ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनलमा झिलमिला युवा समाज ‘बि’ र दोधारा के.एफ.सी आमनेसामने हुने भएका छन्। प्रतियोगिता संयोजक एवम् क्लबका उपाध्यक्ष मनोज खडायतका अनुसार फाइनल खेल आज दिउँसो १२ बजे हुनेछ।

सेमिफाइनलको पहिलो खेलमा झिलमिला युवा समाज ‘बि’ ले दीप ज्योती युवा क्लबलाई २–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। त्यस्तै दोधारा के.एफ.सी ले पुनर्वास नगरपालिकासँगको रोमाञ्चक खेलमा निर्धारित समयमा १–१ को बराबरी भएपछि ट्राइबेकरमा ३–२ ले विजयी हुँदै उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको हो।

फाइनल विजेता टोलीले नगद ८२ हजारसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ४५ हजार, ट्रफी, प्रमाणपत्र र मेडलमा चित्त बुझाउनेछ। प्रतियोगितामा आयोजक टोलीसहित १६ टिमले सहभागिता जनाएका थिए।

गौरा पर्वको अवसरमा रमाइलो मात्र नभई नयाँ उदाउँदा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबले जनाएको छ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio