
विमल धामी बेलडाँडी । कञ्चनपुरको बेग्लै र परम्परागत परिवेशसँगै जोडिएको बेलडाँडी गाउँपालिकामा एक नामले सबैको मन जितेको छ—हरिशचन्द्र राना । आदिवासी जनजाति परिवारमा जन्मेका राना, एक कुशल नेता र साहसी व्यवस्थापकको रूपमा आफ्नो पहिचान बनाइसकेका छन् ।
शिक्षामा एक स्थिर करियर बनाइराख्दा उनले राजनीति र समाजसेवामा कदम राखे र आज गाउँका हरेक नागरिकको आशा र विश्वासको राना प्रतीक बनेका छन् ।पालिका प्रमुख राना कुनैदिन बेलडाँडीका वडा नं. ५ स्थित गणेश माध्यमिक विद्यालयका एक सामान्य शिक्षक थिए ।
उनले विद्यालयमा शिक्षा प्रदान गर्दै मात्र आफ्नो कर्तव्य पूरा गरेनन्, तर बालबालिकामा परिवर्तनको बीउ रोप्न निरन्तर प्रयास गरे । साधारण शिक्षकबाट राजनीति र नेतृत्वको दायित्वमा पुग्नुको यात्रा सजिलो थिएन ।
शिक्षकका रूपमा उहाँले केवल शैक्षिक ज्ञान मात्र होइन, समाजको दायित्व र नेतृत्वको महत्त्व पनि बालबालिकालाई बुझाउन चाहन्थे ।उहाँका दृष्टिकोणले धेरैलाई प्रेरित गरे, र बेलडाँडीको विकासका लागि थप जिम्मेवारीको आवश्यकता महशुस भयो ।
शिक्षकको कम्जोरीलाई बदल्ने उद्देश्यले उनले राजनीतिमा प्रवेश गरे, र २०७९ को स्थानीय चुनावमा बेलडाँडी गाउँपालिका प्रमुखको पदमा विजय हासिल गरे ।रानाले कार्यकाल सम्हालेको २ बर्ष भित्रै बेलडाँडी समृद्धिका लागि थुप्रै ऐतिहासिक कामहरू गरेका छन् । राहत शिक्षकदेखि गाउँपालिका प्रमुखसम्मको उनको यात्रा संघर्ष, समर्पण र जनसेवाको जीवन्त उदाहरण बनेको छ ।
रानाले आफ्नो करियरको सुरुवात वडा नं. ५ स्थित गणेश माध्यमिक विद्यालयमा राहत शिक्षकबाट शुरु गरेका थिए ।रानाले गाउँपालिकाको नेतृत्व सम्हाल्नुअघि नै जनताको मनमा आफ्नो इमान्दार छवि बनाइसकेका थिए । बेलडाँडीलाई समृद्ध बनाउने उद्देश्यसहित थुप्रै विकास योजनाहरू अघि सारेका छन् ।
प्रमुखको जिम्मेवारी हातपरेपछि १५ सैयाको अस्पतालः गाउँपालिकाभित्रै स्वास्थ्य सेवाको सहज पहुँचका लागि अस्पतालको स्थापना कार्य अघि बढ्यो, वडा कार्यालय भवन निर्माणः सबै वडा कार्यालयलाई व्यवस्थित बनाउँदै सेवा प्रवाहमा सुधार, कोल्ड स्टोर र दुग्ध चिस्यान केन्द्रः किसानहरूको उत्पादनलाई बजारसम्म पुर्याउन सहज बनाउँदै कृषि क्षेत्रमा सुधार, खेलकुदको प्रवद्र्धनका लागि खेलमैदान निर्माण प्रक्रिया सुरु, विद्युतको समस्या समाधान गर्न सबस्टेशन स्थापना प्रक्रियामा, विद्यालयहरूमा लगानी वृद्धि र आधारभूत स्वास्थ्य सेवामा सुधार, अब्यवस्थित गौशाला व्यवस्थित, कार्यालयको अनावश्यक हुने खर्चमा कमी, बर्षेनी मिडियामा सकिने ३० लाख भन्दा बढी खर्च घटाउदै लिमिटमा पुर्याउनु लगायत विभिन्न विकासी कार्य गर्दै आएका छन् ।उहाँको नेतृत्व साहसी र इमान्दार मानिन्छ । कार्यपालिकामा सहि निर्णय गर्ने उनको क्षमताले जनतालाई अझै विश्वास दिलाएको छ ।
जनताको आवश्यकताका आधारमा बजेट वितरणदेखि ठूला योजना बनाउने प्रक्रियामा उनले देखाएको पारदर्शिताले उनलाई एउटा सशक्त नेता बनाएको छ ।तर, सफल नेतृत्वको बाटो कहिल्यै सहज हुँदैन । प्रमुख रानाले व्यक्तिगत स्वार्थका लागि नजिक हुने र आफ्नो स्वार्थ पुरा नभएपछि विरोध गर्ने प्रवृत्तिको सामना गर्नुपरेको छ ।
कार्यपालिकाभित्र पनि कतिपय पक्षहरूबाट असहयोग र स्वार्थपूर्ण आलोचनाका बाबजुद, उनले आफ्नो दायित्वप्रति इमान्दारी कायम राखिराखे ।उहाँले विकासका लागि थुप्रै योजनाहरू अघि सार्दा, केही व्यक्तिहरू र समूहहरूलाई यी योजनाहरू मन परेनन् । विरोध र अवरोधका बाबजुद, उहाँले कहिल्यै पथ छोडेनन् ।
भ्रष्टाचार र अनियमिततासँगको संघर्षले उहाँलाई निरन्तर चुनौती दिएको थियो, तर उहाँले हरेक परिस्थितिमा सत्यको पक्षमा उभिएर, सही मार्गमा अघि बढ्नु भयो ।एक प्रमुख चुनौती उहाँको पार्टीभित्रको विरोध थियो । केही स्वार्थी तत्वहरूले उहाँको सफलताको विरोध गरे, तर रानाले आफ्नो समर्पण र जनताको सेवा प्रतिको अडानलाई दृढ राखे । उहाँको दृढ नेतृत्वले जनतामा विश्वास कायम राख्यो र विरोधीहरूको दबाबलाई नकार्दै विकास कार्य जारी राखे ।विकासका लागि उनले अघि सारेका योजनाहरूले भविश्यमा जनताको दैनिक जीवनमा सकारात्मक प्रभाव पार्ने निश्चित छ । रानाको नेतृत्वमा बेलडाँडी गाउँपालिका एक आदर्श पालिका बन्ने दिशामा अघि बढिरहेको छ ।
उनका विकास योजनाहरू र पारदर्शी नेतृत्वले भविष्यमा अझ ठूला परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । जनताको पक्षमा साहसी निर्णय गर्न सक्ने, जिम्मेवारी बहन गर्ने, र स्वार्थभन्दा माथि उठेर काम गर्ने क्षमता भएका नेता खोज्नेहरूको लागि हरिशचन्द्र राना उदाहरणीय पात्र हुन् ।“जहाँ दृढ इच्छाशक्ति र पारदर्शिता हुन्छ, त्यहाँ समृद्धि सम्भव छ,” रानाको नेतृत्वले यो भनाइलाई साकार बनाएको छ ।







