लालझाडी / बिहीबार काठमाडौँको ताहाचल स्थित होटेल ह्यात प्लेस (HYATT PLACE) मा स्थानीय पूर्वाधार विभागका महा निर्देशक महेशचन्द्र न्यौपानेको अध्यक्षता तथा नेपाल सरकारका उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आथित्यतामा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (PLRIP) को शुभारम्भ तथा समझदारी पत्रमा हस्ताक्षर समारोह सम्पन्न भएको छ ।


विश्व बैङ्क (World Bank) को सहयोगमा सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गतको पहिलो चरणको कामको शुभारम्भ गरेको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच (World Bank) विश्व बैङ्क को १०० मिलियन र नेपाल सरकारको २८ मिलियन गरी कुल १२८ मिलियन अमेरिकी डलर (करिब १७ अर्ब १५ करोड नेपाली रुपैयाँ) बराबरको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत पहिलो चरणको काम शुभारम्भ गरिएको हो ।

प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (PLRIP) कार्यान्वयनका लागि यस कार्यक्रममा तीन चरणको आयोजनामध्ये पहिलो चरणमा नेपाल सरकार सहरी विकास मन्त्रालय अन्तरगत स्थानीय पूर्वाधार विभाग, प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालय र सुदूरपश्चिम, कर्णाली एवं मधेस प्रदेशका स्थानीय तहमध्ये ११ वटा पालिकाहरूबिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

जसमा कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका पनि रहेको छ । उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पाल तथा लालझाडी गाउँपालिकाबाट पालिका अध्यक्ष निर्मल राना र प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीको सहभागिता रहेको थियो । त्रिपक्षीय समझदारी पत्रमा लालझाडी गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले हस्ताक्षर गर्नु भएको थियो । हस्ताक्षर पश्चात् समझदारी पत्रको एक प्रति पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई संयुक्त रूपमा हस्तान्तरण गरिएको छ । यस कार्यक्रम अन्तरगत लालझाडी गाउँपालिकाको केन्द्र जोड्न वडा नम्बर ६ को चानदेवदेखि वडा नम्बर २ को कञ्जसम्म १३.६ कि.मि. सडक कालोपत्रे गरिने छ । उक्त आयोजनाका लागि हाल सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन स्वीकृत गराई ठेक्का आह्वान भएर मूल्याङ्कनको चरणमा रहेको र पुस मसान्तसम्ममा सम्झौता भई कार्यान्वयनमा लैजाने तयारी भइरहेको जनाइएको छ ।






