नरेश राना /कञ्चनपुर, १९ जेठ । कञ्चनपुरको कृष्णपुरमा स्वास्थ्य सम्बन्धी पुनर्स्थापना सेवाका विषयमा अन्तरक्रिया गरिएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल र USAID / HI को साझेदारीमा सञ्चालित पुनर्स्थापना परियोजना अन्तर्गत स्वास्थ्य सम्बन्धी पुनर्स्थापना सेवाका लागि जनप्रतिनिधि लगायत सरोकारवालाहरूलाई पालिका स्तरीय अभिमुखीकरण गरिएको हो ।

कृष्णपुर नगरपालिकाका नगर उपप्रमुख द्रोपती राना को अध्यक्षतामा आयोजित कार्यक्रममा स्वास्थ्य पुनर्स्थापना सम्बन्धी छलफल गरिएको थियो । अहिलेको अवस्थालाई मध्यनजर गरी स्वास्थ्य पुनर्स्थापनाको बढ्दो मागको बारेमा पनि छलफल गरिएको राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको पुनर्स्थापना परियोजनाका सुदूरपश्चिम प्रदेशका परियाेजना अधिकृत निता बिष्टले जानकारी दिनुभयो ।

सोही कार्यक्रममा कृष्णपुर नगरपालिकाले चालु आर्थिक वर्ष २०८०।०८१ मा अपाङ्गताको क्षेत्रमा विनियोजित बजेटका विषयमा पनि समीक्षा गरिएको छ । साथै राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेश समितिले अपाङ्गता भएका व्यक्तिहरूको सवाल र स्वास्थ्य पुनर्स्थापनाका सवाल सहितको पत्र पेश गरेको थियो । उक्त सवालहरूलाई सम्बोधन गर्ने कुरामा पनि छलफल गरिएको बताइएको छ ।