बझाङमा अवैध रूपमा लुकाइछिपाइ राखिएको एकनाले भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा केदारस्युँ गाउँपालिका–७, काँडाचौर निवासी ५८ वर्षीय बहादुर धामी रहेका छन् ।
प्रहरीका अनुसार धामीले आफ्नो घरमा एकनाले भरुवा बन्दुक लुकाएर राखेको भन्ने गोप्य सूचनाका आधारमा मंगलबार दिउँसो अस्थायी प्रहरी पोष्ट बिजगडाबाट खटिएको प्रहरी टोलीले उनको घर तथा आँगनमा खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा घरबाट करिब ५० मिटर टाढा रहेको खरको कुन्युमा लुकाइराखेको अवस्थामा उक्त बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।
बन्दुक बरामद गरेपछि प्रहरीले धामीलाई नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






