नरेश राना / कञ्चनपुर
कञ्चनपुरको लालझाडी गाउँपालिका–२, कञ्जमा पाँचौँ लालझाडी अध्यक्ष कप फुटबल प्रतियोगिता–२०८३ सुरु भएको छ। श्री अमर ज्योति युवा क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा विभिन्न स्थानका २२ वटा फुटबल टिमको सहभागिता रहेको छ।
स्थानीयस्तरमा फुटबल खेलको विकास, खेलाडीहरूको प्रतिभा पहिचान तथा खेलकुद क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन विभिन्न क्लब तथा फुटबल टिमहरूले उत्साहजनक सहभागिता जनाएका छन्।
कार्यक्रमको सभाध्यक्ष खेलकुद संयोजक हिलेन्द्र रानाले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाको उपस्थिति रहेको थियो। त्यसैगरी विशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत हिमाल डगौरा, वडा नं. ५ का वडा अध्यक्ष पहल बहादुर थापा र वडा नं. २ का वडा अध्यक्ष आशाराम राना रहनुभएको थियो।

कार्यक्रममा क्लबका सचिव नीर सिंह रानाले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन शिक्षक ओमप्रकाश रानाले गर्नुभएको थियो।
आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार ५ रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी द्वितीय हुने टिमले नगद १ लाख ५ रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ।
२२ वटा टिमको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ। स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै विभिन्न क्षेत्रका खेलाडी तथा खेलप्रेमीबीच आपसी सद्भाव, एकता र भाइचाराको सम्बन्ध स्थापित गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ।
स्थानीयस्तरमा फुटबलप्रतिको आकर्षण बढ्दै गएको अवस्थामा सञ्चालन भएको पाँचौँ लालझाडी अध्यक्ष कपले लालझाडी गाउँपालिकाको खेलकुद विकासमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ।







