धनगढी । मुइयाँघाट भलिबल कप–२०८३ आजदेखि सुरु भएको छ। खेलकुदको विकास, स्थानीय प्रतिभाको पहिचान तथा गाउँस्तरमा लुकेर रहेका खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
कार्यक्रम क्लबका अध्यक्ष अनिल रानाको अध्यक्षतामा भएको हो। प्रतियोगिताको प्रमुख अतिथि पूर्व वन तथा वातावरण मन्त्री नारदमुनि राना सहभागी रहनुभएकाे थियाे। विशिष्ट अतिथिका रूपमा वडा अध्यक्ष शिवकुमार राना, वडा नं. ७ का अध्यक्ष मोति राना, वडा नं. १२ का अध्यक्ष शेरबहादुर महरा लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी प्रतियोगिताका मुख्य प्रायोजक केयर टेकर तथा निसर्ग अस्पतालका प्रतिनिधि, गाउँका बुद्धिजीवी, भलमन्सा र स्थानीयवासीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा क्लबका कोषाध्यक्ष सतीस रानाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सरस्वती रानाले गर्नुभएको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वडा अध्यक्ष शिवकुमार रानाले दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्नुभयो। उहाँले खेलकुद गतिविधिसँगै स्थानीय विद्यालयको भौतिक पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्ने बताउँदै बीपी आधारभूत विद्यालयको खेलमैदान मर्मत गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि पूर्व वन तथा वातावरणमन्त्री नारदमुनि रानाले एउटा सुन्दर कथाबाट आफ्नो मन्तव्य सुरु गर्नुभएको थियो। उहाँले खेलाडीको वास्तविक मूल्य र सम्भावना सबैले बुझ्न नसकेको उल्लेख गर्दै अन्य देशमा खेलाडीलाई दिइने सम्मान र अवसरबारे चर्चा गर्नुभयो।
उहाँले गाउँ तथा वडास्तरमा अवसरको अभावका कारण धेरै प्रतिभाशाली खेलाडीहरू अझै पनि ओझेलमा परेको बताउनुभयो। यस्ता प्रतियोगिताले लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन र खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उहाँको भनाइ थियो।
देशको वर्तमान अवस्थाबारे टिप्पणी गर्दै उहाँले सामाजिक सञ्जाल, मिडियाबाजी र सस्तो लोकप्रियतामा रमाउने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्नुभयो।

त्यसैगरी उहाँले कृषि क्षेत्रमा देखिएको मल अभावको विषय पनि उठाउनुभयो। सुदूरपश्चिम प्रदेशकी कञ्चनपुर निवासी कृषि मन्त्री गीता चौधरीसँग स्थानीय जनताले मल अभावबारे गुनासो गरेको प्रसङ्ग सुनाउँदै उहाँले मन्त्रीले धनगढी र कञ्चनपुरस्थित कृषि सामग्री कम्पनीमा पर्याप्त मल रहेको बताएको तर किसानहरू मल लिन जाँदा नपाएको गुनासो आफूले सुनेको उल्लेख गर्नुभयो।
मुइयाँघाट भलिबल कप–२०८३ को उद्घाटनसँगै सुरु भएको प्रतियोगिताको पहिलो खेल आयोजक टिम र उर्मी गाउँबीच भइरहेको छ। प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास, युवाहरूबीच आपसी सद्भाव र खेल प्रतिभाको पहिचानमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।







