धनगढी । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति कैलालीको आयोजनामा विजय दशमि, शुभ दीपावली, तिहार तथा छठ पर्वको अवसर पारेर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम राष्ट्रिय समिति सिचवलय सदस्य नेत्रनाथको प्रमुख आतिथ्यमा र संगठनका जिल्ला अध्यक्ष प्रभुनाथ जैसीको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा प्रदेश अध्यक्ष खगेन्द्रप्रसाद धमला  र प्रदेश सचिवालय सदस्य नरेन्द्रराज शर्मा, नेपाल शिक्षक महासंघ  जिल्ला सचिव दानबहादुर खाती, नेकपा एमाले कैलालीका जिल्ला सचिव तथा NNTA का पूर्व उपाध्यक्ष ममता प्रसाद चौधरी, सहकारी जिल्ला अध्यक्ष ममता सुवेदी र पूर्व सहकारी अध्यक्ष वक्तबहादुर शाही लगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रममा मन्तव्य राख्दै प्रदेश समिति सचिवालय सदस्य नरेन्द्रराज शर्माले संगठनलाई थप सशक्त बनाउन प्रचारात्मक तथा रचनात्मक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले संगठनका औपचारिक कार्यक्रममा शिक्षकहरूले संगठनको पहिचान झल्किने पोसाकमा सहभागी हुँदा सकारात्मक प्रभाव पर्ने बताउनुभयो। साथै, शिक्षक संगठनलाई कमजोर बनाउने उद्देश्यले नयाँ सरकारले प्रधानाध्यापक एसोसिएसनजस्तो छुट्टै संरचनालाई अगाडि बढाउन खोजेको विषयमा संगठनमा आबद्ध प्रधानाध्यापक तथा शिक्षक साथीहरू सचेत हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी, प्रदेश अध्यक्ष खगेन्द्रप्रसाद धमलाले शिक्षकहरूको पेशागत सुनिश्चितता, अधिकार र भूमिकाका विषयमा सचेत हुनुपर्ने बताउनुभयो। शिक्षकको पेशागत हकहित र संगठनको भूमिकालाई प्रभावकारी बनाउन सबै शिक्षक एकताबद्ध हुनुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय समिति सदस्य नेत्रनाथले राष्ट्रिय समितिले हालसम्म गरेका विभिन्न गतिविधि तथा उपलब्धिबारे जानकारी गराउनुभयो। उहाँले रसुवामा आएको बाढीका क्रममा राष्ट्रिय समितिले गरेको सहयोगका बारेमा समेत चर्चा गर्नुभयो। सरकारले शिक्षा नियमावली ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै उहाँले सरोकारवाला पक्षसँग पर्याप्त छलफल नगरी महत्वपूर्ण विधेयक तथा नीतिगत व्यवस्था अघि बढिरहेको विषयमा शिक्षक संगठन गम्भीर र चनाखो हुनुपर्ने बताउनुभयो।

कार्यक्रममा नेकपा एमाले कैलालीका जिल्ला सचिव तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व उपाध्यक्ष ममता प्रसाद चौधरीलगायतले पनि शुभकामना मन्तव्य राख्दै चाडपर्वले आपसी सद्भाव, एकता र भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा संगठनका जिल्ला उपाध्यक्ष कर्णबहादुर साउदले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला सचिव गंगाराम ओझाले गर्नुभएको थियो।

शुभ दीपावली, तिहार तथा छठ पर्वको अवसरमा आयोजित उक्त कार्यक्रमले शिक्षकहरूबीच आपसी सद्भाव, एकता, सहकार्य र संगठनात्मक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सेयर कर दियो ।