कञ्चनपुर ।
कञ्चनपुर जिल्ला — बेलडाँडी गाउँपालिका–३, कमरी खैरिघाट निवासी भैँसीपालक कृषक हरकिशन रानाको रहस्यमय मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै स्थानीय समुदाय र नेपाल रानाथारू समाज केन्द्रिय समितिल ले शान्तिपूर्ण विरोध प्रदर्शन कार्यक्रम घोषणा गरेको छ।
संस्थाकाे तर्फबाट जारी प्रेस विज्ञप्तिअनुसार, २०८२ साल वैशाख ९ गते मंगलबार बेलौरी नगरपालिका–१०, शिवनगर स्थित निर्मल शारदा आर्यघाट नजिक हरकिशन राना मोटरसाइकलसहित जलेको अवस्थामा मृत फेला परेका थिए। घटनाको एक वर्षभन्दा बढी समय बितिसक्दा समेत सत्यतथ्य सार्वजनिक हुन नसकेको भन्दै स्थानीयवासी तथा अधिकारकर्मीले गम्भीर असन्तुष्टि जनाएका छन्।
विज्ञप्तिमा पीडित परिवारले पुनः जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएपछि बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ती नाथ पक्राउ परे पनि २१ दिनपछि हिरासत मुक्त भएको उल्लेख गरिएको छ। घटनाको निष्पक्ष अनुसन्धान नभएको, राज्यसत्ताको दुरुपयोग भएको तथा स्थानीय प्रहरी प्रशासनले घटनाका महत्वपूर्ण पक्षहरू ओझेलमा पार्न खोजेको आरोपसमेत लगाइएको छ।
समुदायले उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाको वास्तविकता सार्वजनिक गर्न, दोषीलाई कानुनी दायरामा ल्याउन तथा पीडित परिवारलाई न्याय दिलाउन माग गरेको छ। साथै लोकतान्त्रिक व्यवस्थामा मानवअधिकारको प्रत्याभूति गराउन नागरिक समाज, मानवअधिकारकर्मी, सञ्चारकर्मी तथा न्यायप्रेमी नागरिकलाई आन्दोलनमा ऐक्यबद्धता जनाउन अपिल गरिएको छ।
विरोध प्रदर्शन कार्यक्रम
- मिति: २०८३ साल वैशाख २६ गते, शनिबार
- समय: बिहान ११ बजे
- स्थान: ट्राफिक चोक देखि मदन चोक सम्म (कोणसभा सहित)
आयोजक पक्षले आन्दोलन शान्तिपूर्ण हुने जनाएको छ। साथै राज्यका तर्फबाट हुने कुनै पनि दमनकारी गतिविधि स्वीकार्य नहुने चेतावनी दिँदै त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी राज्यले नै लिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।








