नरेश राना
लालझाडी, कञ्चनपुर
कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका–५ स्थित ईटहा चारपाते युवा क्लबको खेलमैदानमा जारी ७औँ ICYC कप फुटबल प्रतियोगिताको चौथो दिनका खेलहरू सोमबार सम्पन्न भएका छन्।
चौथो दिनको पहिलो खेल नब ज्योति युवा क्लब २ वाणी र सम्पूर्ण फुटबल युवा क्लबबीच प्रतिस्पर्धा भएको थियो। रोमाञ्चक खेलमा सम्पूर्ण फुटबल युवा क्लबले उत्कृष्ट प्रदर्शन गर्दै नब ज्योति युवा क्लब २ वाणीलाई २–० गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो। खेलको सुरुदेखि नै आक्रामक देखिएको सम्पूर्ण फुटबल युवा क्लबले दोस्रो हाफमा दुई गोल गर्दै जित सुनिश्चित गरेको थियो।
त्यसैगरी चौथो दिनको दोस्रो खेल SSDO सुन्दरपुर बेतकोट र नेपाल पुलिस क्लब सुदूरपश्चिमबीच भएको थियो। प्रतिस्पर्धात्मक खेलमा SSDO सुन्दरपुर बेतकोटले नेपाल पुलिस क्लब सुदूरपश्चिमलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा स्थान सुरक्षित गरेको छ। खेलको दोस्रो हाफमा गरिएको एकमात्र निर्णायक गोल नै सुन्दरपुर बेतकोटका लागि जितको आधार बन्यो।
आयोजकका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद रु. १,३१,१३१, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद रु. ७१,१७१ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताले स्थानीय युवामा खेलकुदप्रतिको रुचि बढाउनुका साथै फुटबल खेलको विकासमा सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ।
यसैबीच प्रतियोगिताअन्तर्गत भोलि (मिति: २०८२/१०/१७) दोस्रो चरणका दुई खेलहरू हुनेछन्। दोस्रो चरणको पहिलो खेल BYC तेघरी र गन्तव्य सुधार गृह बोराडाँडीबीच हुनेछ भने दोस्रो खेल स्वतन्त्र युवा क्लब र ICYC रेड प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितालाई हेर्नका लागि दैनिक रूपमा स्थानीय खेलप्रेमी दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको छ।






