बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिका-३, कमरी निवासी भैंसीपालक किसान हरकिशन रानाको रहस्यमय मृत्यु भएको आज ९ महिना पूरा भएको छ । घटना भएको यतिका महिना बितिसक्दा समेत मृत्युको सत्य-तथ्य सार्वजनिक हुन नसक्नुमा तत्कालीन सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेस नै जिम्मेवार रहेको पीडित पक्षले आरोप लगाएको छ ।

पीडित परिवारका अनुसार, “हाम्रो घरको अभिभावक घरमै सुतेको अवस्थामा लगेर नृशंस तरिकाले हत्या गरिन्छ, तर सत्तामा बसेका एमाले-कांग्रेस मुखमा दही जमाएर बसे । आजसम्म हामी पीडितलाई न न्याय दिलाइयो, न कुनै आश्वासन नै दिइयो ।”

गत वैशाख ८ गते घरमा सुतेका राना वैशाख ९ गते बिहान बेलौरी नगरपालिका-१० स्थित निर्मल आर्यघाट नजिकै, तोरिको भुसामाथि जलेको अवस्थामा मोटरसाइकलसहित मृत फेला परेका थिए । घटनाको प्रकृतिले स्थानीयवासीमा अझै त्रास कायमै रहेको छ ।

पीडित परिवारले तत्कालीन समयमा एमाले-कांग्रेस गठबन्धनको सरकार रहँदा दोषी पत्ता लगाउनुको सट्टा दोषीलाई संरक्षण गरिएको गम्भीर आरोप लगाएका छन् । “सत्तामा हुँदा हाम्रो घाउमा मलम लगाउन नआउनेहरू आज चुनाव आयो भनेर भोट माग्न हाम्रो घर-टोलमा आइरहेका छन् ।,”

आगामी निर्वाचनलाई लक्षित गर्दै पीडित पक्षले स्पष्ट शब्दमा भनेका छन्, “जसले हामीलाई न्याय दिन्छ, उसैलाई भोट दिन्छौँ । जसको शासनकालमा हाम्रो मान्छे मारियो र न्याय दिन चाहेन, उसलाई भोट दिनु भनेको फेरि जनताका छोराछोरी मार्न छुट दिनु हो ।”

पीडित परिवारले एमाले र कांग्रेसका नेताहरूलाई भोट माग्न आउन नैतिक अधिकार नरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । “हाम्रो पीडामा मौन बस्नेहरूले कुनै नाकले हाम्रो समुदायमा भोट माग्न नआउन्,” उनीहरूको चेतावनी छ ।

९ महिना बितिसक्दा पनि सत्य बाहिर नआउनुले तत्कालिन सत्तामा रहेकाहरूको इच्छाशक्ति र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ । पीडित परिवार न्यायको पर्खाइमा छन् ।,