कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएको रानाथारु समुदाय अहिले राजनीतिक रूपमा ठूलो हलचलको केन्द्रमा देखिएको छ। कञ्चनपुर जिल्लाका सबै पालिकामा तथा प्रतिनिधिसभाको १ नम्बर क्षेत्रमा करिब ७० प्रतिशत बहुल्यता रहेको यो समुदाय कैलालीका तीन पालिकामा पनि उल्लेख्य रूपमा फैलिएको छ। यस्तो जनसांख्यिक प्रभाव भए पनि आसन्न मध्यावधि निर्वाचनमा “भोट कसलाई दिने?” भन्ने प्रश्नले समुदायभित्र गहिरो अन्योल सिर्जना गरेको छ।
अझ रोचक पक्ष के छ भने पुराना तीन ठूला दल र नयाँ दलहरूले समेत १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाइसक्दा पनि रानाथारु समुदायबाट स्थापित नेताहरूले दलको टिकट पाउन सकेका छैनन्। यसले समुदायमा राजनीतिक उपेक्षाको अनुभूति थप बलियो बनाएको छ।
नेपाली कांग्रेसबाट रानाथारु समुदायको पहिचान बनाएका नेता प्यारेलाल रानाले २०७४ सालको निर्वाचनमा तत्कालीन प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाइ निर्वाचनमा सघाएन भनेर उनि माथि पाटीले अराेप लगायाे। तर सोही पराजयलाई लिएर पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायतले पार्टीभित्र आरोप लगाएपछि राना कांग्रेस छोड्न बाध्य भए। यसपटक उनी स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन्, जसलाई समुदायको स्वाभिमानको लडाइँका रूपमा हेरिएको छ।
त्यस्तै, एमालेबाट उदाएका अर्का ठूला नेता नारदमुनि रानाको राजनीतिक यात्रामा पनि उतारचढाव देखिन्छ। २०७४ मा आरजु राणा देउवालाई पराजित गरेका उनी २०७९ मा डिल्लीराज पन्तसँग ९२५ मतअन्तरले पराजित भएका थिए। यसपटक त उनलाई आफ्नै पार्टीभित्र केन्द्रीय सदस्यमा समेत पराजय व्यहोर्नु पर्यो भने निर्वाचनका लागि पार्टी टिकटसमेत दिइएन। हाल उनी एमालेका संगठित सदस्यमा सीमित छन्।
यी दुवै नेताको कमजोर पार्टी हैसियत र टिकटविहीन अवस्था देख्दा रानाथारु समुदायका मतदाताहरू पुराना दलप्रति निराश देखिन्छन्। नयाँ दलप्रति आशा जगाउने वातावरण बने पनि उम्मेदवार नआउँदा समुदाय स्वतन्त्र उम्मेदवार वा वैकल्पिक राजनीतिक धारको खोजीमा देखिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, यदि रानाथारु समुदाय एकीकृत रूपमा निर्णयमा पुग्न सके यस निर्वाचनमा निर्णायक शक्ति बन्न सक्छ। तर नेतृत्व र स्पष्ट राजनीतिक दिशाको अभावले मत विभाजन हुने जोखिम पनि उत्तिकै छ। यही कारण, यो निर्वाचन रानाथारु समुदायका लागि केवल प्रतिनिधि छनोट मात्र नभई आफ्नो राजनीतिक पहिचान र हैसियतको परीक्षणको रूपमा हेरिएको छ।






