लालझाडीमा नेपाल शिक्षक महासंघद्वारा शैक्षिक कार्यक्रम सम्बन्धी माग पत्र बुझाइयो

२०८२ असार ७, शनिबार १६:२१
लालझाडीमा नेपाल शिक्षक महासंघद्वारा शैक्षिक कार्यक्रम सम्बन्धी माग पत्र बुझाइयो

नरेश राना /लालझाडी – नेपाल शिक्षक महासंघ, गाउँ समिति लालझाडी गाउँपालिका, कञ्चनपुरले शैक्षिक गुणस्तर सुधार तथा शिक्षक अधिकार सुनिश्चित गर्नका लागि आवश्यक माग समेटिएको एक माग पत्र लालझाडी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत समक्ष बुझाएको छ।

मागपत्र बुझाउने कार्यक्रममा महासंघका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष लगायत अन्य पदाधिकारी तथा शिक्षक प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा अध्यक्षले हाल गाउँपालिकाभित्र शिक्षाको अवस्था, भौतिक संरचनाको अभाव, जनशक्ति व्यवस्थापनको समस्या तथा शिक्षकहरुको पेशागत अधिकार र स्वाभिमानमाथि परिरहेको चुनौतीहरूलाई उल्लेख गर्दै समाधानका लागि तत्काल पहल गर्न अनुरोध गरेका थिए।

मागपत्रमा उल्लेख गरिएका प्रमुख मागहरू निम्नानुसार छन्:

विद्यालयमा न्यूनतम भौतिक पूर्वाधार सुनिश्चित गर्न,

गुणस्तरीय शिक्षाको प्रवर्धनका लागि आवश्यक तालिम तथा स्रोतको व्यवस्था,

विद्यालय स्तरीय शैक्षिक योजना निर्माणमा शिक्षकको सहभागिता,

अस्थायी शिक्षकहरूको समायोजन तथा स्थायीत्व,

शिक्षक सरुवा तथा पदस्थापनमा पारदर्शिता र निष्पक्षता,

शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेटको यथोचित वितरण।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले मागपत्र प्राप्त गर्दै शिक्षकहरूको जायज मागलाई सम्मान गर्ने प्रतिबद्धता जनाए। उनले भने, “शिक्षा क्षेत्रको सुधार बिना विकास सम्भव छैन। मागहरूलाई नीतिगत तहमा समेट्ने प्रयास गरिनेछ।”

कार्यक्रममा शिक्षक प्रतिनिधिहरूले स्थानीय सरकार र शिक्षक समुदायबीच समन्वय र सहकार्यका आधारमा विद्यालय सुधार अभियानलाई अघि बढाउन जोड दिएका थिए।

नेपाल शिक्षक महासंघ, गाउँ समिति लालझाडीले निकट भविष्यमा थप कार्यक्रमहरू सञ्चालन गर्दै शिक्षक हितका लागि निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेको छ।