लक्ष्मी राना/ धनगढी,४ फागुन ।
रानाथारू समुदायमा मनाइने सबभन्दा ठूलो पर्व फागु अर्थात् होरी पर्व आजबाट सुरु भएको छ । रानाथारू समुदायको दिन अनुसार माघको पूरनमासी अर्थात् पूर्णिमाको दिन देखि फागु पूर्णिमा र फागु पूर्णिमाको आठौँ दिन खकडेहरा सम्मा ३८ दिन धुमधामसँग होरी पर्व मनाइन्छ ।
माघको पूर्णिमाको दिन गाउँको चाकर अर्थात भलमन्साले गाउँको प्रत्येक घर घरबाट उठाएको भेँट र गाउँका दाजुभाइले आफ्नो घरबाट लगेका कन्डा, टिटरो, दाउरा आदि लगेर गौँटेहर भर्राको पुजन विधि विधान अनुरूप साँझा गाउँको कुलदेवता भुईँयामाताको नजिकै होरीको स्थापना गरिन्छ । होरीको स्थापनादेखि फागुपूर्णिमा सम्म जिन्दा अर्थात् जिउँदो होरी साँझाको खाना खाएर खेलिन्छ ।
त्यस्तै फागु पूर्णिमाको दिन होरीलाई जलाइन्छ र त्यो दिनदेखि खकडेहरासम्म मरि अर्थात् मरेको होरी दिनमा खेलिन्छ । फागु पूर्णिमाको आठौँ दिनपछि खकडेहरा हुन्छ र त्यो दिन होरीलाई बिदाई गरिन्छ । यसरी ३८ दिन सम्म चल्ने होरी पर्व रानाथारू समुदायमा आफ्नो मौलिक परम्परा अनुरूप हर्षोल्लासका साथ मनाइन्छ ।यो वर्ष होरीले सबैमा सद्भाव, मेलमिलाप, हर्ष, खुसी ल्याएर आओस् सम्पूर्णमा होरी पर्वको सुभकामना ।






