
उमेश राना/किर्तिपुर, काठमाडौँ
ह्यात प्लेस, काठमाडौंमा आयोजित दुई दिवसीय अन्तर्राष्ट्रिय एआई (AI) सम्मेलनमा प्रविधि, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, र अर्थतन्त्रका विविध क्षेत्रहरूमा एआईको महत्त्व र प्रयोगका सम्भावनाहरूमा गहन छलफल भयो । सम्मेलनमा नेपाल सहितका अन्तर्राष्ट्रिय क्षेत्रका विशेषज्ञ, सरकारी अधिकारी, शिक्षाविद्, व्यवसायिक नेताहरू, र युवा उद्यमीहरूले सहभागिता जनाएका थिए । यो सम्मेलनमा एआईलाई आर्थिक समृद्धिका लागि कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा गम्भीर संवाद भएको थियो ।
सम्मेलनको दौरान एआईको प्रयोगले शासन व्यवस्थामा सुधार, शिक्षामा गुणस्तर अभिवृद्धि, स्वास्थ्य सेवामा क्रान्तिकारी परिवर्तन, कृषि विकास र उद्योगमा उत्पादनशीलता वृद्धि गर्न सकिने सम्भावनाहरूको चर्चा गरियो । युवा वैज्ञानिकहरूको सहभागितामा विभिन्न प्यानल डिस्कसनहरू आयोजना गरिए जहाँ एआईलाई नेपालजस्तो विकासोन्मुख देशहरूमा कसरी प्रभावकारी रूपमा उपयोग गर्न सकिन्छ भन्नेमा जोड दिइयो ।
सम्मेलनको समापन सत्रमा एआईको प्रयोगले राष्ट्र निर्माणमा कस्तो भूमिका खेल्न सक्छ भन्नेबारेमा गहन छलफल भयो । सहभागीहरूले एआईसँग सम्बन्धित राष्ट्रिय नीति, एआईमा भएका पछिल्ला प्रवृत्तिहरू र यसका सामाजिक प्रभावहरूको विषयमा महत्त्वपूर्ण विचार विमर्श गरेका थिए।
सम्मेलनको समापन समारोहमा सहभागी सबैलाई सम्मान, उपहार र अन्य सम्मानका कार्यक्रमहरूको आयोजना गरियो । आयोजकहरूले एआईका क्षेत्रमा भएका नयाँ अनुसन्धानहरूलाई प्रवर्द्धन गर्ने र नेपालको आर्थिक तथा सामाजिक उन्नतिमा योगदान दिने उद्देश्यले यस सम्मेलनले महत्त्वपूर्ण सन्देश प्रवाह गरेको जनाएका छन् ।
यो सम्मेलनले नेपालमा एआईको प्रयोगलाई बढावा दिन र यसलाई विभिन्न क्षेत्रहरूमा लागू गर्नका लागि एक सशक्त मंचको रूपमा काम गर्ने विश्वास व्यक्त गरिएको छ ।






