कञ्चनपुर, २३ जेठ २०८० । कञ्चनपुरको लालझाडी गाउँपालिकामा विपद् जोखिम न्यूनीकरण सुशासन मूल्याङ्कनको कार्यशाला गोष्ठी गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको समन्वय, डेनिस रेडक्रसको साझेदारी तथा युरोपियन युनियनको वित्तीय साझेदार तथा सहयोगमा सोमबार लालझाडी गाउँपालिकाको सभा हलमा कार्यशाला गोष्ठी गरिएको हो ।
परियोजनाका सहजकर्ता नवीन दाहालले कार्यक्रमको सहजीकरण गर्नुभएको हो । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाको अध्यक्षता एवं गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्ट, वडाध्यक्ष लगायतका जनप्रतिनिधिहरू, कर्मचारीहरू समेतको सहभागितामा उक्त कार्यक्रम गरिएको बताइएको छ । सो कार्यक्रममा पालिकाको विपद् जोखिम न्यूनीकरण सम्बन्धी मूल्याङ्कन फाराम भरी गहन छलफल समेत गरिएको छ ।






