नरेश राना /कञ्चनपुर, १६ पुस । कञ्चनपुरको बेलौरीमा चोरी डकैती तथा लुटपाट गर्ने एक गिरोह फन्दामा परेको छ । बेलौरी नगरपालिका वडा नम्बर १ फटियामा लुटपाट गर्न गएको उक्त गिरोहलाई स्थानीय र सुरक्षाकर्मीहरूले घेराबन्दीमा पारेका छन् । लुटेराहरूको गिरोह गए राति पनि लुटपाट गर्न गाउँ पसेपछि स्थानीयहरू एकजुट भएर घेराबन्दीमा पारेको र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई खबर गरेको स्थानीय गजेन्द्र पन्तले बताउनु भयो । यो समाचारलाई पुनः अपडेट गर्दासम्म (आज बिहान ७:४० बजेसम्म) लुटेराहरू मध्ये उखुबारी भित्र लुकेर बसेका ३ जनालाई एक थान पेस्तोल र त्यसमा प्रयोग हुने केही थान गोली सहित पक्राउ गरिएको र अरु लुटेराहरूलाई नियन्त्रणमा लिनका लागि उच्च सावधानी सहित सुरक्षाकर्मी र स्थानीय नागरिक केन्द्रित रहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभयो ।

यस अघि यही पुस ६ गतेको मध्यरातमा बेलौरी नगरपालिका वडा नम्बर १ फटिया स्थित राजेन्द्र भट्टको घरमा पनि लुटपाट भएको थियो । भट्टको घरबाट तीन लाख बिस हजार नगद सहित सुनको औँठी, कानको बाली, नाकको नथिया गरी करिब दुई तोला बराबर सुनका गरगहना लगायत दुई किलोग्राम घ्यू समेत चोरी भएको थियो । लुटपाटमा संलग्न रहेको आशङ्कामा दुई जना शङ्कास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । चोरीमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक भण्डारीले बताउनु भयो । सोही समयमा बेलौरी नगरपालिका वडा नम्बर ४ बुटावारी बस्ने ६५ वर्षीय दयाराम सुनारको घरबाट अज्ञात व्यक्तिले  २२ हजार मूल्य पर्ने सिँचाइ मोटर र फलामको पाइप चोरी गरी लगेको थियो । माटोले चिनाई गरेको घरको भित्ता फोडेर चोरी गरी उक्त सामान लगेको पीडित सुनारको भनाइ छ ।

त्यस्तै यही पुस ११ गते राति मात्रै पनि बेलौरी नगरपालिका वडा नम्बर २ बैजुडाँडाका दुइटा घरमा अज्ञात समूहले लुटपाट गरेको थियो । मध्यरातमा हतियार सहित गाउँ पसेको लुटेराहरूको समूहले बैजुडाँडाका प्रेमनाथ चौधरी र मनोज चौधरीको घरबाट डेढ लाख नगद रुपैयाँ, सुनका गरगहना, मोबाइल सहितका सामग्री लुटपाट गरेको पीडित परिवारलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयो । लुटेराहरूले लगेको मोबाइल सेट भने नजिकैको उखुबारीमा फेला परेको बताइएको छ । उनीहरूको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।  लुटेराहरूको समूह भारतीय रहेको हुनसक्ने स्थानीयको आशङ्का छ ।